जनकपुरधाम, २३ माघ । मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानहरुका लागि निःशुल्क मिटर वितरण र सिँचाईको व्यवस्थापनका लागि पहल सुरु गरेको छ ।
मधेशको १ सय ३६ वटै पालिकामा कृषि विद्युतिकरण, कृषि मिटर निःशुल्क वितरण र सिँचाईको व्यवस्थापनका लागि मन्त्रालयले पहल सुरु गरेको हो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाको पहलमा नेपाल विद्युतिकरणको प्रादेशिक कार्यालयसँग समन्वय गरेर किसानहरुका लागि निःशुल्क कृषि मिटर वितरण गर्न पहल सुरु गरिने बताइएको छ ।
यसका लागि मधेस प्रदेशको हरेक जिल्लाका नेपाल विद्युत प्राधिकरणको कार्यालयसँग छलफल गरिने मन्त्री कुश्वाहाले जानकारी दिए ।
यसका लागि नेपाल विधुत प्राधिकरणको मापदण्ड अनुसार बिजुलीको महशुल पालिकाले तिर्नु पर्ने र पूर्वाधार निर्माणका लागि बजेट छुट्याइने मन्त्री कुश्वाहाको भनाई छ ।
किसानलाई निःशुल्क मिटर वितरण र सिँचाईको व्यवस्थापनका लागि भएको छलफलमा मन्त्री कुश्वाहा, मन्त्रालयका सचिव डा. नम्रता सिंह र नेपाल विधुत प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख मुनिन्द्र ठाकुर लगायतको उपस्थिति थियो ।
मधेश प्रदेशमा सप्तरीको राजविराज, रूपनी, छिनमस्ता, बिष्णुपुर, बलान बिहुल, बोदेबरसाइन, खड़क, सुरूँगा र अग्निसाइर पालिकाले कृषि विद्युतिकरणका लागि पहल शुरु गरिसकेका छन् ।
त्यस्तै, धनुषाका सबैला, क्षिरेश्वर, बटेश्वर, सहिदनगर, बिदेह, जनकनन्दनी, हंसपुर, कमला, धनौजी, मुखियापट्टी मुसरनिया, मिथिला बिहारी, नगराइन, औरही, लक्ष्मीनिया र जनकपुरधाम, महोत्तरीको औरही, गौशाला, सम्सी, भंगहा, एकडारा, पिपरा, मनारा सिसवा, मटिहानी, बलवा, महोतरी र रामगोपालपुर, सर्लाहीको ईश्वरपुर, बसवरिया, रौतहटको मौलापुर, देवाही गोनाही, कटहरिया, माधवनारायण, गढÞिमाई, दुर्गा भगवती र पर्साको विरगंजले समेत यसका लागि पहल सुरु गरिसकेको मन्त्री कुशवाहाको सचिवालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया