काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार भेटवार्ता भएको छ ।
सो भेटवार्तामा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको हो ।
प्रधानमन्त्री प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका एमाले अध्यक्ष ओलीबीच बालकोटमा भएको भेटमा बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवार लगायतका विषयमा छलफल गर्ने सहमति भएको जनाइएको छ ।
भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको उम्मेदवार र सरकारका कामकारबाहीबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने जानकारी दिए ।
राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते तोकिएको छ । फागुन २८ मा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल सकिँदै छ ।
सत्ता साझेदार दलबीच राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेबारे एक मत हुन सकेको छैन ।
एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने अडान राख्दै आएपनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउने बताउँदै आएका छन् ।
तपाईको प्रतिक्रिया