सर्लाही, २५ माघ । चन्द्रनगर गााउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय र विद्यालयमा ई–हाजिरी (फिङर प्रीन्ट अर्थात औंठा बाला हाजिरी मसिन) को व्यवस्था गाउँपालिकाले गरेको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोले बुधबार एक पत्र सार्वजनिक गर्दै सो कुरा जनाएका हुन् ।
२०७९ फाल्गुन १ गतेदेखि गाउँपालिकाका सम्पूर्ण शाखा, केन्द्र, कार्यालय र विद्यालयमा अनिवार्य रुपमा ई–हाजिरी गर्नु पर्ने व्यवस्था मिलाइएको अध्यक्ष महतोले जनाएका छन् ।
प्रत्येक महिनाको ई–हाजिरीमा गैल देखिएको दिनको नियमानुसारको कागजात सहित उचित कारण नभएको अवस्थामा नियमानुसारको गैल कट्टी हुने व्यहोरा पनि सो पत्रमा उल्लेख गरिएको छ ।
‘सम्बन्धित कार्यालय वा विद्यालयमा जडान गरिएको ई–हाजिरी मेसिनको सुरक्षाको जिम्मेवारी त्यस कार्यालयको कार्यालय प्रमुख र विद्यालयको प्र. अ. को हुनेछ । ई–हाजिरी मेसिनमा कुनै समस्या देखिएमा गाउँपालिकाको सूचना अधिकृत र प्रशासन शाखा प्रमुखलाई तत्काल जानकारी गराई मेसिन सुचारु गराउनु पर्ने हुन्छ । सूचना अधिकृत र प्रशासन शाखा प्रमुखले पनि यथासम्भव छिटो मेसिन सुचारु गराउनु पर्ने हुन्छ । यस सम्बन्धि कुनै ढिला सुस्ती भए सम्बन्धित कार्यालय वा विद्यालयका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत वा गाउँपालिका अध्यक्षलाई सम्पर्क गर्नु हुन आग्रह छ ।’ पत्रमा भनिएको छ ।
जनतालाई सेवा प्रदान गर्ने काममा बिना उचित कारण र नियमानुसारको कागजात बिना अनुपस्थित हुने गलत अभ्यास अन्त्य गरि जनतालाई समयमा चुस्त दुरुस्त तवरले गुणस्तरीय सेवा प्रवाह गरि सम्बन्धित सम्पूर्णले आफ्नो पदीय र नैतिक जिम्मेवारी निर्वाह गर्नु हुनेछ भन्ने बिश्वास अध्यक्ष महतोले लिएका छन् ।
तपाईको प्रतिक्रिया