लाभदायक बालीको रुपमा मकै स्थापित हुँदै : कृषि प्रमुख ढकाल

समाचार

कमल राज पौडेल देबकमल, बर्दिया, २७ माघ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका कार्यालय प्रमुख सागर ढकालले मकै लाभदायक बालीको रुपमा स्थापित हुँदै गैरहेको र यसलाई अझै बढाउँदै लैजानु पर्ने बताएका छन् ।

गुलरिया नगरपालिका ८ थपुवा गाँउमा संचालित श्री मिलिजुली कृषि सहकारी संस्थाको समन्वयमा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले आयोजना गरेको व्यावसायिक बसन्ते मकै उत्पादन सम्बन्धी सरोकारवालाहरुबीच छलफल कार्यक्रममा उपस्थित कृषकहरुलाई बताएका हुन् ।

प्रमुख ढकालले बसन्ते मकै र हिउँदे मकै खेतीबाट अन्य खेतीभन्दा धेरै उत्पादन लिन सक्ने हुँदा कृषकहरुको प्रमुख रोजाईमा मकै खेती परेको बताए ।

उनका अनुसार, उत्पादनदेखि बजारीकरणसम्मको सबै जानकारी कृषकहरुलाई आफुहरुले दिइरहेको हुनाले मकै खेती गर्न किसानहरुलाई आग्रह गरेका थिए ।

कृषक रामभरोसे थारुले गाँउमा धेरै जसो कृषकहरुले यो वर्ष हिउँदे मकै लगाएको बताए । कृषक थारुका अनुसार, बसन्ते मकैभन्दा हिउँदे मकै धेरै फल्ने, दाना ओजनदार हुने र जेठ महिनाभित्र भित्र्याई सकिने हुँदा धान लगाउन समेत सहज हुने हुनाले यो वर्ष थपुवागाँउमा धेरैजसो कृषकहरुले बसन्ते मकै भन्दा हिउँदे मकै खेती गरेको जानकारी दिए ।

थपुवागाँउको सबै १ सय ७३ घरधुरी कृषकहरुले ६० विघाहा क्षेत्रफल जमिनमा मकै खेती गरेको र आज आफुहरुले एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाको टिमलाई मकै बारी अवलोकन गराएर हाल मकैमा देखिएको किराको बारेमा जानकारी गराउदै गाँउमा मकै भण्डारको समस्या रहेकोले मकै भण्डारनका लागि भवन निमार्णको लागि एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयसंग सहयोग मागेका कुरा श्री मिलिजुली कृषि सहकारी संस्थाका अध्यक्ष्य रामसिंह थारुले जानकारी दिए ।

बर्दिया जिल्ला भित्र ८ हजार ३ सय ५० हेक्टर क्षेत्रफल जमिनमा मकै खेती हुने र ३५ हजार ९ सय २८ मेट्रिक टन उत्पादन हुने गरेको कुरा एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ