काठमाडौं, २७ माघ । छिमेकी मित्रराष्ट्र भारतका विदेश सचिव विनय क्वात्राले दुई दिने नेपाल भ्रमणमा आउन लागेका छन् ।
उनका नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा फागुन १ देखि २ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन् ।
विदेश सचिवको कार्यभार सम्हालेपछिको यो क्वात्राको पहिलो नेपाल भ्रमण हो ।
दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण हुन लागेको भारत सरकारको विदेश मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्नेछन् ।
भारत र नेपालबीच सभ्यतागत एवम् ऐतिहासिक सम्बन्ध रहेको छ । यसबीच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटि परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य झन् बलियो भएको छ ।
यो भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउने अवसर प्रदान गर्ने भारतका विदेश मन्त्रालयले विश्वास लिएको छ ।
तपाईको प्रतिक्रिया