वीरगन्ज, २९ माघ । वीरगन्जमा आयोजित प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जीत हात पारेको छ ।
प्रतियोगिताको फाइनलमा गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट सङ्घलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै मधेश प्रदेश नेत्रहीन क्रिकेट सङ्घले उपाधि जितेको हो ।
वीरगन्जको नारायणी रङ्गशालास्थित क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट सङ्घले १८.३ ओभरमा अलआउट हुँदै ७७ रन मात्र बनाएको थियो ।
७८ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको मधेश प्रदेश नेत्रहीन क्रिकेट सङ्घले ९.४ ओभर खेल्दै १ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो ।
प्रतियोगिताको म्यान अफ दी सिरिज मधेश प्रदेशका नवीन तामाङ घोषित भए । उपाधिसँगै मधेश प्रदेशको मधेश प्रदेश नेत्रहीन क्रिकेट सङ्घले नगद ३० हजार रुपैयाँ र ट्रफी हात पारेको छ । उपविजेता गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट सङ्घले भने नगद १५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
विजेता र उपविजेता टिमलाई वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल र वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्य दूत शैलेन्द्र कुमारले नगद पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए ।
तपाईको प्रतिक्रिया