जनकपुरधाम, १ फागुन । तराई–मधेशमा सक्रिय साना दलहरुबीच एकता र सहकार्यका लागि अवधारणापत्र र अन्य दस्तावेज तयार गर्न पाँच सदस्यीय कार्यदल गठन भएको छ ।
जनकपुरधामस्थित तराई–मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा सोमबार बसेको साना दलहरुको बैठकले पाँच सदस्य कार्यदल गठन गरेको हो ।
कार्यदलमा तमलोपाका सतीश लाल दास, नेपाल सद्भावना पार्टीका डा.रवीन्द्र चौधरी (राजेश), नेपाल लोकतान्त्रिक पार्टीका डा.कृष्ण चन्द्र साह, राष्ट्रिय सद्भावना पार्टीका रवीन्द्र सिंह र ऐतिहासिक जनता पार्टीका आनन्द साह रहेका छन् ।
विभिन्न आठ राजनीतिक दलहरुबीच एकता र सहकार्यका लागि गत माघ १७ गते बसेको बैठकले निर्णय गरेको थियो ।
तमलोपाका वरिष्ठ नेता डा. विजय कुमार सिंहको अध्यक्षतामा तमलोपा, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रीय सद्भावना पार्टीका नेताहरु बैठकमा सहभागी थिए ।
बैठक यी पार्टीहरु बीच सहकार्यको निमित्त साझा मुद्दाहरूको पहिचानमा केन्द्रित रहेको थियो ।
यसैगरी, बैठकमा तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, नेपाल सद्भावना पार्टीको अध्यक्ष रामकुमार महतो, ऐतिहासिक जनता पार्टीको अध्यक्ष बद्रीनारायण ठाकुर, नेपाल लोकतान्त्रिक पार्टीको सह–अध्यक्ष सुरेश प्रसाद गुप्ता, राष्ट्रिय सद्भावना पार्टीको प्रवक्ता राजेश्वर ठाकुर, तमलोपाका धिरेन्द्र सिंह, योगेन्द्र राय, भोलानाथ झा, बिभा ठाकुर, बिमला साहको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया