काठमाडौं, २ फागुन । माघ २८ देखि फागुन १ गतेसम्म चलेको केन्द्रीय कार्यकारिणी समितिको विशेष बैठक सोमबार केही प्रारम्भिक गृहकार्य गर्दै र पुनः एक सप्ताह पछि बस्ने गरी सम्पन्न भएको छ।
बैठकमा संगठनको पुनर्संरचना, केन्द्रीय संरचनाहरूको पुनर्गठन, संघीय परिषद् र प्रादेशिक समितिहरूको गठन, घर–घर जनमत अभियान, जनमत प्रवेश महाअभियान, नवप्रवेशी र नेता कार्यकर्ताहरूको व्यवस्थापन, प्रशिक्षण र अनुशासन, जिल्ला इन्चार्जहरूको नियुक्ति÷फेरबदल, जिल्ला अधिवेशनको तैयारी, भातृसंगठन, मोर्चा र विभागहरूको पुनर्गठन, हरेक जिल्लामा प्रभावकारी र नियमित कार्यालय तथा हेल्पडेस्क व्यवस्थापन आदि विषयमा छलफल भएको थियो।
पार्टी प्रवेश गर्न चाहने राष्ट्रिय तथा जिल्ला स्तरका नेताहरूलाई पार्टी प्रवेश शीघ्रताका साथ गराउने र त्यसको लागि संयन्त्र निर्माण गरिने विषयमा छलफल भएको थियो।
स्थानीय र प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनहरूको समीक्षा, विभिन्न जिल्लाबाट आएका गुनासाहरू उपर सुनुवाई र कारबाहीको सिफारिशको विषयमा समेत छलफल भएको थियो।
निर्वाचनको क्रममा अन्तर्घात गरेका, खुला वा छद्म रूपमा अरू नै पार्टीलाई सहयोग गरेका, निर्वाचनको मुखमा अरू पार्टीमा प्रवेश गरेका वा बागी उम्मेदबार बनेका सदस्यहरूमाथि कडा कारबाही गरिनु पर्ने, निर्वाचनको समयमा एक पटक पार्टी छाडेपछि पुनः पार्टीमा फर्किन नदिने वा फर्किए पनि ६ वर्ष कुनै पदाधिकारी वा उम्मेदबार बन्न नपाउने सहितका कारबाहीहरूमाथि समेत छलफल भएको तर सो सम्बन्धमा निर्णय हुन बाँकी नै रहेको छ।
साथै नेता र कार्यकर्ताहरूलाई अनुशासित र मर्यादित बनाउन तथा कमान्डचेनमा रहेर काम गर्नका लागि पुनः प्रशिक्षण दिने,अनुशासन पालना गरे–नगरेको अनुगमन गर्ने र अनुशासन तोडेको पाइएमा अविलम्ब कारबाही गरिने संयन्त्र निर्माण गर्ने विषयमा समेत छलफल भएको अध्यक्ष डा.सीके राउतको सचिवालयले जनाएको छ।
तपाईको प्रतिक्रिया