लोकतन्त्र र मधेश मुद्दाको मशाल जलाइरहने छौं : तमलोपा अध्यक्ष लाल

समाचार

जनकपुरधाम, ८ फागुन । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले लोकतन्त्र र मधेश मुद्दाको मशाल जलाइरहने बताएका छन् ।

अध्यक्ष लालले आइतबार प्रजातन्त्र दिवसको अवसरमा तमलोपा धनुषा जिला कार्यसमितिले आयोजित गरेको वृक्षारोपण कार्यक्रमलाई सम्वोधन गर्दै ‘राजनीतिक दल तथा नेताहरू पदको बँटबाडा र त्यसको निमित्त लोकतन्त्रको स्वाभाविक अभ्यासलाई अवरोधित गर्ने कार्य गरिरहेका छन् । नयाँ जेनरेसनको नेतृत्व क्षमता रोक्ने काम भइरहेको छ । सबैको ध्यान राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र कुर्सीमा छ । पदबारे सहमतिको कुरा हुन्छ तर लोकतन्त्रको संवर्द्धन र भ्रष्टाचारको अन्त्य गर्नबारे सहमति र एकजूट प्रयासको निमित्त कुनै चर्चा नै हुँदैन ।’

उनले आगाडि थपे, “मधेश मुद्दा मधेशको मात्र होइन सम्पूर्ण देशको मुद्दा हो । पहिचानमा आधारित विविधताको सम्मान सहितको नव राष्ट्रियता, स्वशासन, समावेशिता, समानुपातिक प्रतिनिधित्व मधेशको मात्र होइन, सम्पूर्ण देशको मुद्दा हो । मधेशको नाममा राजनीति गर्ने नेताहरू राजधानीमा पदको निमित्त दरबारहरुमा हार–गुहार गर्ने र मधेशमा आन्दोलनको भाषा बाँड्ने गरेका छन् । तर यथार्थमा उनीहरुले मधेश मुद्दा बिसाएका छन् । तमलोपा लोकतन्त्र र मधेश मुद्दाको मशाल जगाइरहने छ ।’

अध्यक्ष लालले लोकतन्त्र र मधेश–थरुहटको मुद्दाप्रति प्रतिवद्ध सबैलाई एकजूट हुने आग्रह गरे ।

वृक्षारोपण कार्यक्रम तमलोपा धनुषाको उपाध्यक्ष नारायण राउतको अध्यक्षतामा जनकपुर उपमहानगरपालिका–१३ पिराडीको राजर्षि जनक माध्यमिक विध्यालयमा भएको थियो र विध्यालयको हाताको चारैतिर गुलमोहर, आंवला, नीम, पतरख, लगायत २५ जातका विरुवाहरू रोपिएका थिए ।

प्रजातन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा तमलोपाका सतीश लाल दास, नेतृ बिभा ठाकुर, विद्यालयका प्रधानाध्यापक बिनोद साहले अमर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पित गरेका थिए ।

तमलोपाका नेताहरू जोगी राय, हेमनाथ साह, भोलानाथ झा, रमेश अधिकारी, भगिरथ लाल इश्वर पंडित, राधिका चौधरी, सुनिता कर्ण, अंजना दत्त, श्याम मण्डल लगायत वृक्षारोपणमा सहभागी थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ