“नेपाल–भारत बहुभाषिक कविता महोत्सव” आयोजना

समाचार

काठमाडौं, ११ फागुन । काठमाडौंस्थित भारतीय राजदूतावासले स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, हिन्दी केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयको वाल्मिकी विश्वविद्यालय र अक्षर यात्री प्रतिष्ठान, भारतको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा ‘नेपाल–भारत बहुभाषिक कविता महोत्सव’ आयोजना गरेको छ ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री भूपाल राई प्रमुख अतिथिका रुपमा उपस्थित थिए । सम्बोधनमा उनले मातृभाषाको महत्वलाई उजागर गर्दै यस्ता कार्यक्रमले नेपाल र भारतबीचको सांस्कृतिक र साहित्यिक सम्बन्ध थप प्रगाढ हुने बताए ।

भारतीय दूतावास, काठमाडौंका डेपुटी चिफ अफ मिसन श्री प्रसन्न श्रीवास्तव पनि उपस्थित थिए। विशेष अतिथिका रूपमा भारतका प्रतिष्ठित मराठी साहित्यकार डा. स्वाती शिन्दे पवार र नेपालका वरिष्ठ लेखक तथा साहित्यकार डा. गंगाप्रसाद अकेलाको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता त्रिभुवन विश्वविद्यालयको हिन्दी विभागकी प्रमुख डा सञ्जिता वर्माले गर्नुभएको थियो ।

कार्यक्रमको संयोजन स्वामी विवेकानन्द कल्चरल सेन्टर, भारतीय राजदूतावास, काठमाडौंका निर्देशक डा आसावरी बापटले गर्नुभएको थियो ।

कार्यक्रममा भारत र नेपालका कविहरूले संस्कृत, हिन्दी, मराठी, नेपाली, डोटेली, मैथिली, अवधी, भोजपुरी, बंगाली, पञ्जाबी, उर्दू र अंग्रेजी भाषामा कविता वाचन गरेका थिए ।

कार्यक्रममा एक सयभन्दा बढी कवि, साहित्यकार, भाषाविद् र लेखकहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा सहभागी हुन भारतबाट विशेष रुपमा काठमाडौं आएका अक्षर यात्री प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

विश्वमा भाषिक र सांस्कृतिक विविधता र बहुभाषिकतालाई प्रवर्द्धन गर्न हरेक वर्ष फेब्रुअरी २१ मा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइन्छ। सन् १९९९ मा युनेस्कोले यसलाई मनाउने घोषणा गरेको थियो । सन् १९५२ मा बंगलादेशमा भएको ऐतिहासिक भाषा आन्दोलनको सम्झनामा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइन्छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ