मधेशवाणी डेस्क, काठमाडौं, १२ फागुन । राष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय नजिकिँदै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम द्रुतगतिमा अगाडि आएको छ ।
देशको वर्तमान राजनीतिक अवस्थामा लोसपाका अध्यक्ष ठाकुर देश हितकारी हुने विश्लेषकहरूको बुझाइ रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान राजनीतिक अवस्था द्वन्द्व चर्किने अवस्थामा पुगेको छ ।
देशमा संघीय लोकतान्त्रिक गणतन्त्रका आधारमा निर्माण हुनु पर्ने राष्ट्रियताका लागि गर्नुपर्ने काम धेरै रहेको छ । मधेश आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्रका लागि समपूरक आन्दोलनको काम गरेको थियो । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा भएको दोस्रो पञ्चवर्षे कार्यकालका लागि सम्पन्न निर्वाचनबाट पनि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरूको बहुमत संसदमा रहेको छ ।
नेपाली राजनीतिमा महन्थ ठाकुर एक सम्मानित राजनीतिक व्यक्तित्वको रूपमा चिनिएका छन् । उनको नाम यसअघि सहमतिमा प्रधानमन्त्रीको रूपमा व्यापक चर्चा चलेको थियो । तर अध्यक्ष ठाकुरले त्यसबेला यो पदका लागिका उत्सुकता नदेखाएको देखिएको थियो । लोसपाका नेताहरूले ठाकुरलाई लिएर राष्ट्रपति पदका लागि प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालगायतका नेताहरूसँग छलफलमा जुटेका छन् । भावी राष्ट्रपतिको विषय बहस आन्तरिक तथा बाह्य राजनीतिमा भइरहेको छ ।
नेपाली कांग्रेस र एमालेले आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति बनाउने पहल भइरहेका बेला लोसपाका नेता ठाकुर नाम अगाडि आएको हो । देशलाई द्वन्द्वबाट जोगाउनु पर्ने आवश्यकता छ । देशमा माओवादी सशस्त्र द्वन्द्व र मधेश विद्रोहका घाउहरू पुर्नु पर्ने अवश्यकता छ । प्रधानमन्त्री प्रचण्डले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध दुषित हावा बग्न थालेकोले बाह्रबुँदे सम्झौता पक्षधरहरू एकजुट हुनुपर्ने बताएका थिए । राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिका आधारमा उम्मेदवार खोज्नुपर्ने र त्यस्ता व्यक्तिलाई ल्याउनु पर्ने धारणा प्रधानमन्त्री प्रचण्डले व्यक्त गरेपछि राष्ट्रपति पदको उम्मेदवारको रूपमा लोसपाले ठाकुरलाई अगाडि बढाएको देखिएको हो ।
लोसपाका नेताहरूले नेपाली कांग्रेसका सभापति देउवासँगको भेटपछि बढी उत्साहित देखिएका छन् । अर्कोतर्फ नेपाली कांग्रेसले आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनाउने र जिताउने तयारी गरिरहेको छ । कांग्रेसबाट पछिल्लो पटक राष्ट्रपतिमा कृष्ण सिटौलाको नामलाई विशेषरूपमा चर्चामा ल्याइएको छ ।एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समर्थनमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बनाउन सक्ने हल्ला पनि फिँजाएको पाइएको छ ।
एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले एमालेले नेपाललाई राष्ट्रपतिमा समर्थन गरेको भनाइ आफूलाई थाहा नभएको बताएका छन् । नेता नेपालले पनि यसबारे स्पष्ट नपारेकोले यो हल्ला जस्तै देखिएको छ । यस्तै राष्ट्रपतिको दौडमा सभापति देउवा पनि रहेको हल्ला पनि चलेको छ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता सिटौलाको नामसँगै लोसपा नेता ठाकुरको नामले विशेष चर्चा पाएको हो । एमालेबाट ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु रिमाल, डोरमणि पौडेलको नाम पनि राष्ट्रपति पदका लागि चर्चामा रहेका छन् । एमालेका कतिपय नेताहरूले राष्ट्रपतिमा अध्यक्ष केपी ओली, माधवकुमार नेपाल , झलनाथ खनाल र अमिक शेरचनसम्मको नाम अनौपचारिक बैठकहरूमा सुझाइ रहेका छन् ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको व्यवहारबाट राष्ट्रपतिको निर्वाचनमा प्रमुख दल माओवादी केन्द्रका नेताहरूले एमालेबाट राष्ट्रपति पदको उम्मेदवारलाई सघाउन सशंकित छन् । त्यसैले प्रचण्डले ओलीलाई एमालेलाई राष्ट्रपतिमा समर्थन गर्न नसकिने भन्दै आएको सो पार्टीका नेताहरूले बताउने गरेका छन् ।
यस्तो परिदृश्यमा प्रधानमन्त्री प्रचण्डको राष्ट्रिय सहमतिको अर्थलाई खोतल्दा चर्चामा चलेका दुई नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको राजनीतिक आधारमा सान्दर्भिक देखिन्छन् । कांग्रेसका सिटौला र लोसपाका ठाकुर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको राजनीतिक आधारमा सान्दर्भिक देखिन्छन् ।
नेपालको राजनीतिमा वाम लोकतान्त्रिक गठबन्धनको ठुलो महत्व रहिआएको छ । यो गठबन्धनले नेपालमा ठुलो ठुलो परिवर्तन ल्याएको छ । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान पनि वाम लोकतान्त्रिक गठबन्धनको ठुलो योगदान छ ।
तर यसको समपूरक मधेश विद्रोह रहेको छ । वर्तमानको राजनीतिक परिदृश्य वाम लोकतान्त्रिक गठबन्धन र मधेश विद्रोहको परिणाम हो । यस्तोमा राष्ट्रिय सहमतिको खोजी गर्नु भनेको नयाँ राष्ट्रिय एकताको निर्माण गर्नु हुन्छ । यो नयाँ राष्ट्रिय एकता भनेको मधेश विद्रोहलाई सम्मान गर्नु हुन्छ । यो आधारमा सिटौला भन्दा ठाकुर बलियो व्यक्तित्व भएको नेपालको राजनीतिक तथा कूटनीतिक वृतमा चर्चा छ ।
अहिलेको सरकारमा एकीकृत समाजवादी सामेल नभएकोले उसको राजनीतिक उद्देश्य चुनाव अघिको गठबन्धन निर्माण गर्न खोजेको देखिएको छ । एमाले र कांग्रेसका नेताहरूले राष्ट्रपति पदका लागि पूर्व प्रधानमन्त्रीहरू उपयुक्त नहुने तर्क सारिरहेका छन् । यसको अर्थ देउवा, नेपाल र खनालको नाम राष्ट्रिय सहमतिका लागि उपयुक्त देखिएन् ।
कांग्रेसमा पौडेलको भूमिका कार्यकारी राजनीतिमा अझै आवश्यक भएको भन्नेहरू छन् । राष्ट्रिय सहमतिको आधारमा कांग्रेसको समर्थनमा राष्ट्रपति बने वर्तमान सत्तागठबन्धनमा परिवर्तन हुन सक्ने देखिन्छ । यस्तोमा बाह्रबुँदे सम्झौता र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने गरी भएको राजनीतिक आन्दोलनमा नेपाली कांग्रेसका नेताहरूमा सिटौला मुख्य व्यक्ति छन् । नेपाली कांग्रेसमा रहेका बेला र मधेश आन्दोलनमा रहेका बेला बाह्रबुँदे सम्झौतामा ठाकुरको योगदान कम छैन् । लोसपाका अध्यक्ष ठाकुर नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष रहिसकेका छन् ।
प्रचण्डको राष्ट्रिय सहमतिबाट उचित व्यक्तिको छनौट गर्नुपर्ने राजनीतिक बुझाइबाट सिटौला र ठाकुर द्वन्द्व समाधान गर्न सहयोग पु¥याउन सक्ने व्यक्ति हुन सक्छन् । वाम लोकतान्त्रिक गठबन्धन र मधेश आन्दोलनको आधारमा यी दुई व्यक्ति मध्ये ठाकुर उपयुक्त व्यक्ति हुन् । ठाकुरले देशको हित भनेको मधेशी पहिचानको सम्मान गर्नु र मधेश आन्दोलनको सम्मान गर्नु हुने बताउने गरेका छन् । त्यसैले ठाकुरले देशको सबै भन्दा पुरानो र ठुलो पार्टी नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व छोडेर मधेश आन्दोलनको अगुवाइ गर्न पुगेका हुन् ।
ठाकुरले वाम लोकतान्त्रिक सरकारलाई समर्थन गर्दै आएका नेता पनि हुन् । देशको द्वन्द्व समाधान गर्नु भनेको माओवादीको सशस्त्र द्वन्द्व र मधेश आन्दोलनका घाउहरू पुर्नु हुन्छ । यसका लागि सिटौला भन्दा ठाकुर राष्ट्रिय सहमतिका उपयुक्त उम्मेदवार हुने ठुला दलका नेताहरूको बुझाइ छ । सिटौलाको भन्दा ठाकुरको छनौट बढी देश हितकारी हुनेमा आम पर्यवेक्षकहरूको धारणा रहेको छ । उनीहरूका अनुसार ठाकुरको छनौट राष्ट्रपतिमा नभए देशमा द्वन्द्व जीवित राख्न खोज्नेहरूको सहमति भएका अर्थ लाग्ने छ ।
तपाईको प्रतिक्रिया