विराटनगर, १३ फागुन । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले विराटनगर पन्चालीस्थित सगरमाथा सेकेन्डरी स्कुलको २६ औं अभिभावक/विद्यार्थी दिवसको उद्घाटन गरेका छन् ।
उद्घाटन गर्दै लामो समयसम्म विद्यालयमा कार्य गरी सेवा निवृत तथा अन्यक्षेत्रमा प्रवेश गर्नुहुने शिक्षकलाई सम्मान तथा विदाइ गरेका थिए ।
प्रदेश प्रमुखले आफू पनि लामो समयसम्म शिक्षण पेशामा सक्रिय रहेको बताउँदै अहिले पनि विद्यालयहरुले आयोजना गर्ने यस्ता कार्यक्रमहरुमा सहभागिता जनाउदा गर्व महसुस हुने बताएका थिए ।
पछिल्लो समय शिक्षाको गुणस्तर निरन्तर खस्कदो अवस्थामा रहेकाले अभिभावक तथा विद्यार्थीमा निराशा उत्पन्न भएको र यसैको परिणाम स्वरुप बेरोजगारी बढेको र सोही कारण युवा जनशक्ति बिदेश पलायन भएकोमा चिन्ता व्यक्त गरेका थिए । यसका लागि विद्यार्थीहरुको ज्ञान र सिपलाई स्वदेशमै प्रयोग गर्न सके मुलुकको उन्नति हुन धेरै समय नलाग्ने बताए ।
कार्यक्रममा बाल्मिकी स्कुलबाट सविता पराजुली, डीएभी स्कुलका रमेश मिश्र, ग्रेडेड स्कुलका प्रेमलाल सुवाल, लिलिपुट स्कुलका चिरञ्जिवी तिमल्सिना, खाद्य विज्ञ तारा निरौला, रामसीता माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा अभिभावक सुमकलाल रोय अतिथिका रुपमा रहेका थिए ।
कार्यक्रमका बिचमा विद्यालयका विद्यार्थीहरुद्वारा नृत्य गर्नुका साथै उत्कृष्ट विद्यार्थीलाई छात्रवृति तथा पुरस्कार प्रदान गरिएको थियो ।
वि.सं. २०५३ सालमा स्थापित यस शैक्षिक संस्था २०६३, ०६४ र ०६६ मा पूर्वाञ्चलकै उत्कृष्ट तथा ०६५ मा देशभरकै उत्कृष्ट विद्यालय घोषणा भई शिक्षा मन्त्रालयबाट पुरस्कृत भएको स्कुलका प्राचार्य त्रिलोचन गौतमले जानकारी दिए ।
तपाईको प्रतिक्रिया