जनकपुरधाम, १६ फागुन । छिमेकी मित्रराष्ट्र भारतको आदर्श श्रमजीवी पत्रकार संघका प्रतिनिधि र तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्षबीच भेटवार्ता भएको छ ।
संघका राष्ट्रिय अध्यक्ष डी. एल. शर्माको नेतृत्वमा नेपाल भ्रमणमा आएको ७ सदस्यीय टोलीले तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालसँग तमलोपाको कार्यालयमा भेट गरी नेपाल–भारत सम्बन्धबारे विचार–विमर्श र विचारको आदान–प्रदान गरेको हो ।
पत्रकारहरुको टोलीमा राष्ट्रिय अध्यक्ष शर्मासहित उपाध्यक्षहरु ललित गुप्ता, दिलिप कारपेन्टर, महासचिवद्वय अशोक चौधरी, इश्वर गुर्जर, प्रवक्ता शंकर लाल र कोषाध्यक्ष अनिल शर्मा थिए ।
छलफलमा नेपाल–भारत सम्बन्धको वर्तमान स्थिति, सकारात्मक संकेतहरू र सम्बन्ध अझै प्रगाढ बनाउन हुनु पर्ने प्रयत्नहरुबारे कुराकानी भएको तमलोपाकी नेतृ बिन्दु ठाकुरले बताइन् ।
कुराकानीमा नेपाल पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष राजेश कर्णको समेत सहभागिता थियो ।
तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले टोलीलाई होलीको शुभकामना दिंदै सम्मानसमेत गरेका थिए ।
तपाईको प्रतिक्रिया