रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

समाचार

काठमाडौं, २५ फागुन । चौथो कार्यकालका लागि राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् भने एमालेका उम्मेद्वार सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए ।

पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् भने एमालेका उम्मेद्वार नेम्वाङले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाए ।

पौडेललाई कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले मतदान गरेका छन् ।

संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।

संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन् ।

नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुक बाहिर रहेकाले मतदानमा सहभागी भएनन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ