रूपन्देही, २७ फागुन । रुपन्देही जिल्लामा दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
शुद्धोधन गाउँपालिका–३ बेताहानीस्थित सडकमा बा.३ ख १९७७ नम्बरको मिनी ट्रक र लु.६१ प ५२१६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–३ रम्मापुर बस्ने ३६ वर्षीय लाल बहादुर चौधरी र ३५ वर्षीय पिताम्बर चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, बुटवल उपमहानगरपालिका–१२ स्थित सडकमा लु.७७ प १९१४ नम्बरको मोटरसाइकल र लु. ७ प ८०३ नम्बरको मोटरसाइकल शुक्रबार राति एकआपसमा ठक्कर खाई लु.७ प ८०३ नम्बरको मोटरसाइकल पुनः लु २ त ८१९९ नम्बरको ट्याक्टरमा ठोक्किएर दुर्घटना हुँदा लु.७ प ८०३ नम्बरको मोटरसाइकलमा सवार अर्घाखाँची घर भई हाल रूपन्देही बुटवल उपमहानगरपालिका–६ बस्ने ३० वर्षीया सोभा आचार्यको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । तीन वटै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया