मधेश प्रदेशमा स्कूल ब्यागसहितको शैक्षिक किट हस्तान्तरण अभियान सुरु

समाचार

जनकपुरधाम, १ चैत । मधेश प्रदेशका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरूलाई स्कुल ब्याग सहितको शैक्षिक किट हस्तान्तरण गर्ने अभियान सुरु गरिएको छ ।

मधेश प्रदेशका शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री मधेश प्रसाद यादवले जनकपुरधामको सकल कन्या माध्यमिक विद्यालयमा आयोजित कार्यक्रम मार्फत् विद्यालयका प्रधानाध्यापकलाई शैक्षिक किट हस्तान्तरण गरी अभियानको सुरुआत गरेका हुन् ।

मधेश प्रदेशको शिक्षा विकास निर्देशनालयले आयोजना गरेको कार्यक्रममा शिक्षामन्त्री यादवले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि यस्ता शैक्षिक सामाग्रीले सहयोग गर्ने तथा त्यसका लागि शिक्षक र अभिभावक जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

मधेश प्रदेशका शिक्षा विकास निर्देशनालयका निर्देशक चूडामणि फुयाँलको अध्यक्षतामा भएको कार्यक्रममा धनुषाका विभिन्न सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययनरत १० हजार छात्रछात्रालाई स्कुल ब्यागसहित ज्योमेट्रिक बक्स हस्तान्तरण गरियो ।

मधेश प्रदेशका ८ वटै जिल्लाका कक्षा ९ मा अध्ययनरत ८६ हजार ५ सय २३ विद्यार्थीहरूलाई चालु शैक्षिक सत्रको कार्यक्रमबाट स्कुल ब्याग तथा ज्योमेट्रिक बक्स हस्तान्तरण गर्ने कार्यक्रम रहेको निर्देशक फुयाँलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ