सर्लाही, ४ चैत । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन–२०७९ का लागि जनज्योति बहुमुखी क्याम्पस लालबन्दी, सर्लाहीमा मतगणना स्थल निर्माणसहित सम्पूर्ण पूर्वतयारीको कार्य सम्पन्न भएको छ ।
क्याम्पसका सहायक क्याम्पस प्रमुखसमेत रहनुभएका धर्मेन्द्र अधिकारी उक्त निर्वाचन समितिका संयोजक हुन् ।
समितिका प्रवक्ता बाबुराम दाहालका अनुसार कुशल र व्यवस्थित तयारीसहित सचेतनापूर्वक मतदान सम्पन्न गर्ने अभिप्रायले स्थानीय पार्टी प्रतिनिधि, विभिन्न संघ÷संगठन र प्यानलका विद्यार्थी प्रतिनिधि तथा सुरक्षा निकायबिचमा समेत आवश्यक संवाद र सहजीकरण गरिएको छ ।
यसरी सम्पन्न हुने स्वतन्त्र विद्यार्थी युनियनका लागि क्याम्पसले व्यवस्थित र विवादरहित वातावरण तय गरिरहेको बारेमा क्याम्पस प्रमुख तथा निर्वाचन समितिका संरक्षक उमेश तिमल्सिना बताउँछन् ।
भोलि चैत्र ५ गते विभिन्न कारणले रोकिएका बाहेक देशभरका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन हुने भएको छ ।
त्रिविद्वारा प्रकाशित सूचनासहित १९ फागुनबाट सुरु भएको चुनावी प्रक्रियाले भोलि हुने मतदानपश्चात् प्राप्त परिणामका आधारमा नतिजा प्रदान गर्ने छ ।
यस क्रममा मुलुकका करिब ८० ओटाभन्दा बढी क्याम्पसमा सर्वसम्मत स्ववियु पदाधिकारी निर्वाचित भइसकेका छन् । २०१८ सालदेखि त्रिविमा प्रारम्भ भएको यस निर्वाचन कार्यलाई २०३६ सालदेखि दुई–दुई वर्षमा सञ्चालन गरिँदै आइएको भए पनि २०७३ सालदेखि नियमित हुन सकेको छैन ।
२०७३ सालमा पनि २२ आङ्गिक र २८० सम्बन्धन प्राप्त क्याम्पसमा मात्र निर्वाचन भएको थियो । यसपश्चात् विगत १४ वर्षदेखि उक्त कार्य रोकिएको हो । त्यस्तै त्रिविका ६२ आङ्गिक क्याम्पस र एक हजार ३२ सम्बन्धन प्राप्त क्याम्पसमा २०६५ सालबाटै स्ववियु निर्वाचन हुन नसक्दा ती क्याम्पसहरू पहिलादेखि नै स्ववियु पदाधिकारीविहीन भएका छन् ।
लामो समयपश्चात् हुन लागेको निर्वाचनले क्याम्पस र सरोकारवालाको ध्यान खिँचेको देखिन्छ । आम निर्वाचनकै जसरी झल्को दिने गरी यस जनज्योति बहुमुखी क्याम्पसले पनि निकै व्यवस्थित र व्यावहारिक अभ्यास गरेको पाइएको छ ।
उक्त मतदान कार्य भोलि चैत्र ५ गते बिहान ८ बजेदेखि सुरु भई दिनको ४ बजे सम्पन्न हुने र मतदान कार्य सम्पन्न भइसकेपछि सर्वपक्षीय बैठक राखी मतगणना कार्य पनि सुरु हुने स्ववियु निर्वाचन समितिका प्रवक्ता बाबुराम दाहालले बताए ।
प्रवक्ता दाहालका अनुसार सुरक्षा व्यवस्थापनसहित पारदर्शिताका निमित्त क्याम्पस हातामा रहेको मतगणना स्थलमा तारजालीले घेराबेरा गरिएको र सिसिक्यामेरासमेत जडान गरिएको छ ।
तपाईको प्रतिक्रिया