काठमाडौं, १९ चैत । मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले गोरखा संग्रहालय मधेशमा पनि विस्तार गर्न आग्रह गरेका छन् ।
आइतबार गोरखा संग्रहालय पुगेर गोरखा संग्रहालय स्थापना गर्न रौतहटस्थित आफ्नो जग्गा उपलब्ध गराउने प्रतिवद्धतापत्र पेश गरेका हुन् ।
गोरखा संग्रहालय प्रमुख नवराज अधिकारीलाई पेश गरिएको सो पत्रमा गढीमाइ नगरपालिका वडा नं. ४ स्थित सुन्दरपुर(संग्रामपुर) क्षेत्रमा गोरखा संग्रहालय स्थापना गर्न आठ कठ्ठा जग्गा उपलब्ध गराउने प्रतिवद्धता गरिएको छ ।
‘रौतहट जिल्ला गढिमाई नगरपालिका ४ सुन्दरपुर क्षेत्रमा गोरखा दरबार संग्रहालय विस्तार गरी नेपाल एकीकरणसंग सम्बन्धित ऐतिहासिक जानकारीहरु त्यस भेगका जनतालाई सम्प्रेषण गरी राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्न स हयोग पुग्ने देखिन्छ’, अहिराजद्वारा संग्रहालय प्रमुख नवराज अधिकारीलाई पेश गरिएको पत्रमा लेखिएको छ, ‘उक्त स्थानमा पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गाका लागि मेरो निजी भोगाधिकारभित्र रहेको जग्गाबाट आठ कठ्ठा जग्गा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछु ।’
त्यहाँभित्र पृथ्वीनारायण शाहको शालिक तथा नेपाल एकीकरण महाअधियानसंग सम्बन्धित बस्तुहरुको श्रव्यदृश्य सामग्रीहरु राखी सर्वसाधारणलाई नेपाल एकीकरणसंग सम्बन्धित विषय बस्तुको थप जानकारी दिन सकिने उनले बताए ।
साथै उनले मधेशमा गोरखा संग्रहालय निर्माण गर्न आफ्नो नीजि कोषबाट आर्थिक सहयोग गर्ने पनि प्रतिवद्धता जनाएका छन् । साथै उनले यस बिषयमा मधेश प्रदेश सरकार र पुरातत्व विभागमा पनि पहल गर्ने बताएका छन् ।
पत्र बुझ्दै गोरखा संग्रहालय प्रमुख नवराज अधिकारीले यो अवधारणा अत्यन्त गम्भीर र रचनात्मक रहेको बताएका छन् ।
‘रौतहटमा गोरखा संग्रहालय विस्तार गर्न अनुरोध गर्नुभएको छ । त्यसका लागि त्यहाँ जग्गा निशुल्क उपलब्ध गराउने लिखित प्रतिवद्धता व्यक्त पनि गर्नुभएको छ’, उनले भने, ‘यो बर्ष गोरखा संग्रहालय विस्तार गर्ने हाम्रो योजना पनि छ । तर यसमा सबै काम गर्ने विभागले नै भएकाले म विभागमा यो पत्र फर्वाड गर्नेछु ।’
गोरखा संग्रहालय पुगेका अहिराजले नेपाल एकीकरण अभियानमा योगदान गर्ने मधेशी, मुस्लिम, दलित र महिलाको योगदान झल्कने सामग्रीहरु पनि ग्यालरीमा राख्न अनुरोध गरेका छन् ।
मिति : २०७९।१२।१९
विषय : रौतहटको सुन्दरपुरमा गोरखा दरबार संग्रहालयको विस्तार सम्बन्धमा ।
श्री गोरखा दरबार संग्रहालय,
गोरखा ।
जिल्ला रौतहट गढीमाई न.पा. वडा नं ४ स्थित सुन्दरपुर क्षेत्रमा गोरखा दरबार सङ्ग्रहालयको बिस्तार गरी नेपाल एकिकरणसंग सम्बन्धीत एैतिहासिक जानकारीहरु त्यस भेगका जनतालाई सम्प्रेषण गरी राष्ट्रिय एकतालाई प्रबर्द्धन गर्न सहयोग पुग्ने देखिन्छ । उक्त कार्यका लागि पूर्वाधार निर्माणको आवश्यक पर्ने जग्गाको लागि मेरो निजी भोगाधिकारभित्र रहेको जग्गाबाट आठ कट्ठा (०-८-०) जग्गा उपलब्ध गराउने प्रतिबद्धता समेत ब्यक्त गर्दछु । उक्त स्थानमा निर्माण गरिने उल्लेखित सङ्ग्रहालय गोरखा दरबार सङ्ग्रहालयकै नामबाट र त्यहाँ सङ्ग्रहालय हाता भित्र राष्ट्रनिर्माताको शालिक तथा नेपाल एकिकरणसंग सम्बन्धित श्रब्यदृश्य सामाग्रीहरु राखी सर्बसाधारणलाई नेपाल एकिकरणसंग सम्बन्धित बिषय बस्तुहरुको थप जानकारी दिन सकिने भएकोले उक्त ब्यवस्थाको लागि अनुरोध गर्न चाहन्छु ।
नेपाल एकिकरणको क्रममा राजगुरुको रुपमा रहेका मिश्रहरु अर्थात मधेशी समुदायका ब्यक्तिहरुको उपस्थिति, हतियार बनाउने र चलाउने कामसंग जोडिएका मुस्लिम समुदायका व्यक्तिहरु, बिसे नगर्ची समेतका दलितहरु र महिलाहरुको समेत बिषेश योगदान रहेकोले गोरखा स्थित यस सङ्ग्रहालयमा मधेशी, मुस्लिम, दलित र महिलाहरुको एकिकरण अभियानमा भएको योगदान झल्कने सामाग्रीहरु प्रदर्शनीमा राख्ने ब्यवस्था मिलाउनु हुन समेत अनुरोध गर्न चाहन्छु ।
डा.राजेश अहिराज
निवर्तमान प्रदेश प्रमुख
मधेश प्रदेश

तपाईको प्रतिक्रिया