लोकतान्त्रिक मधेशी मोर्चाद्वारा प्रधानमन्त्रीलाई ११बुँदे ध्यानाकर्षण

समाचार

जनकपुरधाम, २३ चैत । लोकतान्त्रिक मधेशी मोर्चाले धनुषाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दहाललाई ११ बूँदे ध्यानाकर्षण प्रेषित गरेको छ ।

मोर्चाका सयौं कार्यकर्ताहरु जनकपुरधामको जनकचौकमा भेला भई जुलुसको रुपमा ध्यानाकर्षणको पत्र बुझाउन जिल्ला प्रशासन कार्यालयमा गएका थिए ।

तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल, वरिष्ठ नेता डा. विजय कुमार सिंह, नेपाल सद्भावना पार्टीको अध्यक्ष रामकुमार महतो, इतिहासिक जनता पार्टीका अध्यक्ष बद्रीनारायण ठाकुर, राष्ट्रीय सद्भावना पार्टीको प्रवक्ता राजेश्वर ठाकुरसहित महोत्तरी गा.पा को अध्यक्ष दिलिप पाण्डे, रामकृपाल साह, रामजी राय, रविशंकर लाल सुभाष, बिभा ठाकुर, सतीश लाल दास, बिमला साह, जोगीन्दर राय, भोलानाथ झा, ब्रजकिशोर सिंह, रवि वर्मा, मदन सिंह, नबीन सिंह, नारायण राउत, भागिरथ लाल, लगायत सैकडौं नेता र कार्यकर्ताहरुको उपस्थिति थियो ।

ध्यानाकर्षण ज्ञापनमा निम्न बूँदाहरुमा लोकतान्त्रिक मधेशी मोर्चाले आफ्ना मांगहरु प्रस्तुत गरेको छ :

१. विधिको शासन र लोकतान्त्रिक अभ्यासको पूर्ण पालना होस् ।

२. मधेश, थरुहट, आदिवासी जन–जाति, मुस्लिम, दलित, पिछडा वर्गको मांगको सम्वोधन र स्थानीय र प्रादेशिक तहको प्रतिनिधित्व गर्ने संघीय संसदको सदन राष्ट्रीयसभामा जनसंख्या आधारित प्रतिनिधित्व तथा संघीय संसदीय अभ्यासमा राष्ट्रीयसभाको समान भूमिका लगायतका विषयमा त्रुटिहरु सुधार्न संविधानको संशोधन गरियोस् ।

३. राज्यका हरेक अंगमा समानुपातिक समावेशिता लागू गरियोस् ।

४. निर्वाचन प्रणालीमा देखिएका पैसा, बाहुबल, जातवादबाट मुक्ति र सबै समुदाय तथा क्षेत्रबाट जनताको सही प्रतिनिधित्वको चयन सुनिश्चित गर्न पूर्ण समुपातिक निर्वाचन पद्धति लागू गरियोस् ।

५. स्थानीय तहको निर्वाचन गैर दलीय आधारमा गरिने व्यवस्था होस् ।

६. नागरिकता विधेयक, २०७९ कानून बनेको घोषित गरियोस् ।

७. लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी मधेश, थरुहट आन्दोलनको क्रममा लगाइएका झूठा मुद्दाहरू खारेज गरियोस् ।

८. नेपाल–भारत सीमा क्षेत्रमा घरायसी प्रयोगको निमित्त गृहस्थीका सामानहरु, खेतीमा प्रयोग गरिने मल–खाद तथा बिउ–बीजन अथवा व्यक्तिगत र विवाह–व्रतवन्धको प्रयोजनको निमित्त लत्ता–कपडा लगायत वन्दोवस्तीका सामानहरु ल्याउन लैजान सवारी साधन बाधित गर्ने, नागरिकसंग दुर्व्यवहार गर्ने जस्ता कार्यहरु तत्काल बन्द गरियोस् ।

९. कृषि क्षेत्रमा प्रतिफलमूलक सुधारको निमित्त आधुनिकीकरण र तकनीकी ज्ञानको साथै समयमै मल–खाद, बीउ–बीजनको आपूर्तिको सुनिश्चितता गरियोस् ।

१०. युवा श्रमशक्तिलाई स्वदेशमै रोजगारको व्यवस्था गर ।

११. भ्रष्टाचारको नियन्त्रको निमित्त कारगार अभियान चलाउ ।

 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ