रौतहट, २९ चैत । गरुडामा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । गरुडा नगरपालिका ५ लक्ष्मीपुरका बिर्जु यादवका २२ वर्षीय छोरा गजिन्दर यादव घाइते भएका हुन् ।
पाखुरामा गोली लागी घाइते भएका यादवको गरुडास्थित एक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि वीरगञ्ज पठाइएको छ ।
गत स्थानीय तहको निर्वाचनमा लोसपा नेपालबाट नगर प्रमुख पदमा प्रत्याशी दीपक यादव दलबलसहित नगरपालिका कार्यालयमा पस्न खोज्दा प्रहरी र आन्दोलनकारीबिच झडप भएको हो ।
नेता यादवले नगरपालिका, नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भाषण गरेर नगरपालिका कार्यालयतर्फ बढ्दा प्रहरीले रोकेको थियो ।
प्रहरीले नेता यादवलाई रोक्न खोज्दा यादवका कार्यकर्ताहरुले प्रहरीमाथि ढुंगा मुढा बर्साउन सुरु गरेपछि प्रहरीले पहिले लाठी चार्ज गरेको थियो ।
प्रहरीको लाठी चार्जबाट स्थिति असामान्य भएपछि अश्रुग्याँस र त्यसपछि केही राउन्ड गोली चलाएको थियो । गरुडामा अश्रुग्याँस र गोली गरी करिब डेढ दर्जन फायर भएको छ ।
आन्दोलनकारीको ढुंगा प्रहारबाट एक जना प्रहरी निरीक्षकसहित सात जना सुरक्षाकर्मीलाई चोटपटक लागेको छ । प्रहरी निरीक्षक वीरेन्द्र पासवान घाइते भएका छन् । घाइते पासवानको हातमा चोट लागेको छ ।
तपाईको प्रतिक्रिया