कोरियन पूर्वमन्त्री ली र कृषि विकास बैंकबीच छलफल

समाचार

काठमाडौं, १ बैशाख । दक्षिण कोरियन पूर्वमन्त्री डा.ली नामकी र एनआरएनएका अध्यक्ष विनोद कुँवरले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइयो) गोबिन्द गुरुङसँग विदेशी लगानी भित्राएर नेपालका विभिन्न क्षेत्रको विकास गर्ने बारे छलफल गरेका छन् ।

बिहिबार रामशाहपथस्थित बैंकको केन्द्रीय कार्यालयमा भएको छलफलमा सहकार्य गर्न सकिने आधार रहेको निष्कर्ष निकालेका छन् ।

गैरआवसीय नेपाली संघ (एनआरएनए) को पहलमा कोरियाका पूर्वमन्त्री डा. ली नेपालका सरकारी तथा नीजि आर्थिक क्षेत्रका निकायहरुसँग एक सातादेखि भेटघाट र छलफलमा रहेका छन् ।

कोरिया–एसिया इकोनमिकको अपरेसन एसोसियसनका अध्यक्ष समेत रहेका डा. लीले बिहिबार सिईयो गुरुङसँग वैदेशिक लगानी कृषि विकास बैंकमार्फत परिचालन गर्नेबारे विशेष छलफल गरेका थिए ।

डा. लीले विशेष गरेर सर्वसाधारण आमनागरिकले सेवा र सुविधा प्राप्त गर्ने र सरकारी नियन्त्रण भएका परियोजनामा आफूहरुको लगानी गर्ने बताए ।

आफूहरुले हाइड्रो तथा सोलार पावर प्लान्ट, एयरपोर्ट, पब्लिकपोर्ट, अस्पताल तथा रिसर्च सेन्टर, विश्वविद्यालय, लजिस्टिक, मोनो रेल, राजमार्ग निर्माणका साथै आमजनताले प्रतयक्ष लाभ पाउने ठूला परियोजनामा लगानी गर्न इच्छुक रहेको बताए ।

जसमा न्यूनतम २० अर्बदेखि माथिको लगानी ल्याउन सक्ने तर लगानीपूर्ण सुरक्षाको सुनिश्चिता हुनुपर्ने आफ्नो मुख्य सर्त रहेको बताए ।
सिईयो गुरुङले आफू नेतृत्वको बैंकलाई लीले प्रस्ताव राखेजस्तै ठूलो रकमको आवश्यकता भएको तर कतिपय कानुनी तथा अन्तर्राष्ट्रिय मौद्रिक नीतिका कारण केही जटिलता रहेको बताए ।

आफूहरुसँग ठूलाठूला आयोजनाहरु पाइपलाईनमा बसेको र लगानीको खोजिमा रहेको बताउँदै निकट भविष्यमा लगानी सुनिश्चिततासहित सहकार्य गर्नसकिने धारणा राखे ।

छलफलका क्रममा एनआरएनएका अध्यक्ष कुँवरले दक्षिण कोरिया लगायताका विश्वका विकसित देशहरुले सुरुमा विदेशी लगानीको भरभूर सदुपयोग गरेको बताउँदै, नेपालले पनि त्यही गर्न सक्ने धारणा राखे ।

सो भेटघाटमा रोपवे नेपालका अध्यक्ष गुणराज ढकाल, संघकी महासचिव जानकी गुरुङ, कार्यकारी निर्देशक राजेश राणा, बैंकका उपमहाप्रबन्धक बाबुकाजी थापा, चीफ फाइनान्स अफिसर प्रेमकुमार श्रेष्ठ, विजनेस क्रेडिट डिपार्टमेन्ट हेड सुदिपकुमार दाहाल र पीडी इन्जीनियरिङ प्रा.लि.का डाइरेक्टर देब गुरुङले विदेशी लगानी ल्याएर नेपाली जनजीवन उकास्न सबैले कोशिष गर्नु पर्ने धारणा राखे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ