बारा २ मा उपेन्द्र यादव विजयी

समाचार

बारा, १३ बैशाख । बारा क्षेत्र नं २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् ।

निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहालाई पाँच हजार ८१ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यादवले २८ हजार चार सय १५ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका कुशवाहाले २३ हजार तीन सय ३४ मत पाएका छन् ।

यादवलाई सत्तारुढ पाँच दलको समर्थन रहेको थियो भने जनमत पार्टी एक्लै चुनावमा प्रतिस्पर्धा गरेको थियो ।

यस्तै, नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले १० हजार दुई सय १६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले दुई हजार आठ सय २९, आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले दुई हजार सात सय ३८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल साहले एक सय १९ मत, नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले एक सय नौ मत तथा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मुक्ति यादवले ६० मत पाएका छन् ।

बारा क्षेत्र नं २ मा गत आइतबार भएको उपनिर्वाचनमा ६८ हजार आठ सय ८७ जनाले मतदान गरेका थिए ।

गत वर्ष मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपा अध्यक्ष यादव सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग पराजित भएका थिए ।

बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित एपछि सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ