रुपन्देही, २३ बैशाख । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विश्वमा बढ्दै गएको अशान्तिका कारण बुद्धको उपदेशको महत्त्व झनै बढेको बताएका छन् ।
साउथ एसिया फाउण्डेशनले लुम्बिनीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले बुद्धको विचार र सन्देश मानव जीवनका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताएका हुन् ।
उनले बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वका बौद्ध मार्गीहरू आउने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने बताए ।
उनले बुद्धको जन्मस्थल नेपाल भएको प्रमाणिक तथ्य रहँदा पनि कतिपय देशमा भ्रम फैलाइएकाले त्यस्ता कुराहरूलाई चिर्नुपर्ने बताए ।
लुम्बिनी विकास कोषसँग सहकार्य गरी साउथ एसिया फाउण्डेशनले लुम्बिनीमा साउन्ड एण्ड लाइट परियोजनाका बारेमा सेमिनार गरेको हो ।
तपाईको प्रतिक्रिया