जनकपुरधाम, २४ बैशाख । नागरिकता विधेयक, २०७९ बारे छलफल भइरहेकोमा तराई–मधेश लोकतान्त्रिक पार्टीले खुशी व्यक्त गरेको छ ।
तमलोपाले लामो समयदेखि यो विधेयकको तत्काल प्रमाणिकरण हुनु पर्ने मांग गर्दै आएको छ ।
तमलोपाले विधायनको सबै संवैधानिक र कानूनी प्रक्रिया पूरा गरिसकेको विधेयकलाई प्रमाणिकरण नगरी पूर्व राष्ट्रपति विद्या भण्डारीले संविधानको घोर उल्लंघन गरको बताउँदै आएको छ ।
यस सम्बन्धमा तमलोपाले विज्ञप्ति, जुलुस, ज्ञापन–पत्र, पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आएको छ ।
चार पार्टी सम्मिलित लोकतान्त्रिक मधेशी मोर्चाले समेत यो विषय समेत समेटेर जिल्ला प्रशासन, धनुषा मार्फत प्रधानमन्त्रीलाई ११ सूत्रीय ध्यानाकर्षण ज्ञापन दिएको तमलोपाको संचार विभाग हेर्ने केन्द्रीय सदस्य उमेश कुमार मण्डल बताउँछन् ।
तमलोपाको नेता मण्डलले विधेयक शिघ्र प्रमाणिकरण हुने आशा व्यक्त गर्दै पूर्व राष्ट्रपति विद्या भण्डारीको गल्ती सच्च्याउनु नै वर्तमान राष्ट्रपतिको देश, संविधान, जनता र लोकतन्त्रप्रतिको पहिलो कर्तव्य भएको बताए ।
विधेयक प्रमाणिकरणको बारेमा हिजो सत्तारुढ गठबन्धन र आइतबार राष्ट्रपतिले कानून विज्ञहरुसंग परामर्श गरेका छन् ।
कानून विज्ञहरुले वर्त्तमान राष्ट्रपतिले नागरिकता विधेयक, २०७९ प्रमाणिकरण गर्न कुनै कानूनी बाधा नरहेको बताइको सूत्रहरुले जनाएको छ ।
तपाईको प्रतिक्रिया