डा.सीके राउतको सुझाव, ‘मानव विकासकेन्द्रित बजेट आवश्यक’

समाचार

काठमाडौं, २६ बैशाख । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बजेटको प्राथमिकता र सिद्धान्तबारे धारणा राख्दै सरकारले मानव विकासलाई केन्द्रित गरेर बजेट ल्याउनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले बजेटमा ठूलठूला सडक, विमानस्थल र आयोजनाहरूमा मात्रै मोटो बजेट विनियोजन हुन लागेको भन्दै मानव विकासमा केन्द्रित गरेर बजेट विनियोजन गर्न सुझाव दिएका हुन् ।

‘सरकारले ‘राष्ट्रिय गौरवका आयोजनामा बजेटको अभाव हुने छैन’ भनेर उल्लेख गरेको छ । तर रोग भोक मेटाउने कुरामा, सामाजिक सुरक्षामा, शिक्षामा, स्वास्थ्यमा भने त्यसरी बजेटको अभाव हुनेछैन भनेर उल्लेख गरेको छैन,’ उनले भने, ‘राष्ट्रिय गौरवका आयोजना भनेका चार लेनका सडक, विमानस्थल, जलविद्युत आयोजनाहरू होलान् । ती पनि बनाउनुपर्छ । तर ती आयोजना बनेपछि प्रयोग गर्ने मान्छेले हो । मान्छे नै नरहे ती राष्ट्रिय गौरवका आयोजना बन्नुको के अर्थ ?’

उनले अहिले पनि शुल्क तिर्न नसकेर विद्यार्थीले आत्महत्या गर्नुपर्ने, पैसा तिर्न नसकेर अस्पतालमा मर्नुपर्ने, शव बन्धक बन्ने, हजारौँ नेपालीहरु भोकभोकै हिड्नुपर्ने अवस्था रहेको भन्दै बजेट ती मान्छेको विकासमा केन्द्रीत गर्न माग गरे ।

‘सडक नबने पनि हुन्छ, तर सरकारले यो यकिन गर्नुपर्छ कि कुनै पनि कुनामा रहेका नेपालीहरूले भोकै मर्नुपर्ने छैन, पढ्न पाउनेछ, स्वास्थ्योपचार पाउनेछ, कम से कम दुई गास खाने कुराको प्रबन्ध छ,’ उनले भने, ‘सडक त्यसपछिको आवश्यकता मात्रै हो ।’

उनले नेपालमा पर्याप्त पूर्वाधार भएको, तर पूर्वाधार विकासको मोडेलमा प्रश्न गर्ने ठाउँहरू रहेको बताए । ‘विद्यालयमा ठूलठूला भवन छन्, तर त्यहाँ पढाउने शिक्षक छैन । विद्यार्थी छैनन् । त्यसैले हाम्रो पूर्वाधार विकासको मोडेल कतै गलत पो छ कि ?,’ उनले भने, ‘यदि क्षमतावान शिक्षक भयो भने उसले रुखको फेदमा बसेर पनि अब्बल विद्यार्थी उत्पादन गर्न सक्छ ।’

उनले बजेट बनाउँदा विदेशमा गएर मजदुरी गरिरहेका नेपालीहरूको तस्बिरलाई अगाडि राखेर, प्रेम आचार्यहरूलाई स्मरण गरेर बजेट बनाउन माग गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ