काठमाडौं, २७ बैशाख । ६बुँदे निर्णय गर्दै जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक सम्पन्न भएको छ ।
बुधबार बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठकले जसपाको विधान महाधिवेशन असार ९, १० र ११ गते काठमांडौंमा आयोजना गर्ने निर्णय गरेको प्रवक्ता मनिष सुमनले जनाएका छन् ।
यसैगरी, सो बैठकले नक्कली भुटानी शरणार्थी सम्बन्धी छानविन प्रकरणमा स्वतन्त्र तथा निष्पक्ष रूपमा छानविन गरी दोषि देखिएकालाई कानूनी दायरामा ल्याई कानुन बमोजिम कारबाही गर्न सरकारसँग आग्रह गरेको हो ।
यस्तै, संसदबाट २–२ पटक पारित भई राष्ट्रपति समक्ष पेश गरिएको नागरिकता सम्बन्धी विधेयक अविलम्व पारित गरी कार्यान्वयनका लागि आग्रहगरेको छ ।
त्यसैगरी, बैठकले प्रदेश १ को नामाकरण विरूद्घ जारी आंदोलनमा दमन बन्द गरी पुनः नामाकरणका लागि आन्दोलनकारी पक्षसँग वार्ताद्वारा समस्या समाधान गर्न प्रदेश तथा संघ सरकारसँग आग्रह गरेको प्रवक्ता सुमनले बताएका छन् ।
जसपा नेपालको संसदीय दलको नेता चयन प्रक्रियाका लागि अर्जुन थापा, मिथलेश सिंह र दिपेन्द्र झालाई जिम्मेवारी दिने निर्णय गरको छ ।
साथै, रामकिशोर यादव (बारा) लाई पार्टीको राजनीतिक समितिमा मनोनयन गर्ने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया