हामी अझै न्यायिक पर्खाईमा छौं : रेशम चौधरी

समाचार

काठमाडौं, ३ जेठ । टीकापुर घटनामा जन्मकैद सजाय भोगिरहेका पूर्वसांसद एवं नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सर्वोच्च अदालतको फैसलापछि आफ्नो वक्तव्य सार्वजनिक गरेका छन् ।

डिल्लीबजार कारागारमा रहेका चौधरीले बिहीबार एक विज्ञप्ति जारी गरी आफ्नो नेता कार्यकर्ता, बुद्धिजीबी, समर्थकलाई सम्बोधन गर्दै आफू अझै न्यायिक पर्खाईमा रहेको उल्लेख गरेका हुन् ।

उनले सर्वोच्च अदालतले गरेको फैसलामा आफूप्रति न्यायिक हुन नसकेको भन्दै सो फैसलालाई स्वीकार्नुको विकल्प नरहेको जिकिर विज्ञप्तिमा गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुल्ला छ । हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौं, साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ ।’

अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभावी सामाजिक सञ्जालमा जे पायो त्यहीं पोष्ट नगर्न अनुरोध गर्दै रेशमले अझै सर्वोच्च न्यायालयप्रति भरोसा रहेको बताएका छन् ।

‘हामी अझै न्यायिक पर्खाईमा छौं । त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको छु ।’ उनले भनेका छन्, ‘म डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको छु । स्वस्थ छु ।’

उनले केही दिनदेखि ‘धरातल’ नामक पुस्तक लेखिरहेको र केही दिनमा सबै सामु साक्षात हुने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

रेशम चाैधरीकाे अपिल ।
May be an image of ticket stub, clarinet and text

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ