काठमाडौं, ३ जेठ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)को पूर्वनिर्धारित ‘जागरण यात्रा’ स्थगित भएको छ ।
आजपाको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा बुधबार अध्यक्ष साहको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले जागरण यात्रा तत्कालका लागि स्थगन गरिएको निर्णय गरेको हो ।
यसैगरी, बैठकले पार्टीको समग्र गतिविधिहरुको समिक्षा गर्दै पार्टी प्रचार तथा संगठन निर्माणको कार्य उत्साहवर्धक रहेको, जनसंगठनका कामकार्यवाहीहरु सन्तोषजनक रहेको, पार्टीप्रति जनाकर्षण बढ्दै गएको, पार्टी संगठन विस्तार गर्ने अनुकूल माहौल बन्दै गएको निश्कर्ष सहित देशमा बढ्दो बेथिती, लुट, भ्रष्टाचार र विभेद विरुद्ध शशक्त ढंगले प्रस्तुत हुने निचोड निकालेको छ ।
यस्तै, आईटी आर्मी, आम दलित मोर्चा र आम किसान मोर्चाको केन्द्रीय समितिलाई पूर्णता दिने निर्णय गरेको आजपाका प्रवक्ता चन्द्र भुषण साहले जनाएका छन् ।
त्यसैगरी, कोशी प्रदेशको नामाकरण विरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आन्दोलनरत पक्षको माग पूरा गराउन सरकारलाई दबाव दिने निर्णय गरेको छ ।
प्रवक्ता साहका अनुसार प्रदेश कमिटिहरुको पूर्णता, बाँकी रहेका जिल्लाहरुको भेला तथा जन वर्गीय संगठनहरुको केन्द्रीय समितिको बैठक अगाडि बढाउने निर्णय गरिएको छ ।
यस्तै, पार्टीको केन्द्रीय कमिटिमा लखिन्दर साह, चन्देश्वर यादव र ममता शर्मालाई चयन गर्दै महत्वपूर्ण जिम्मेवारी तोकिएको उनले बताएका छन् ।
तपाईको प्रतिक्रिया