नवलपरासीमा सबभन्दा बढी मिटरब्याज पीडित

समाचार

नवलपरासी, ५ जेठ । सरकारले मिटरब्याज पीडितहरूको उजुरी दर्ता गरिरहेको समयमा अहिलेसम्म सबैभन्दा बढी उजुरी नवलपरासीमा परेको छ ।

मिटरब्याज पीडितहरूको उजुरी लिन जिल्ला जिल्लाका प्रशासन कार्यालयमै डेस्क स्थापना गरिएको छ ।

अहिलेसम्म प्राप्त देशभरको तथ्याङ्क हेर्दा सबै भन्दा बढी अनुचित लेनदेनको उजुरी पश्चिम नवलपरासीमा परेको बताइएको छ ।

अनुचित लेनदेन (मिटरब्याज)विरुद्ध अहिलेसम्म देशभरबाट ४५ सयभन्दा बढी निवेदन परेका छन्।

पीडितहरुले विभिन्न जिल्लाबाट आन्दोलन सञ्चालन गरेपछि सरकारले गत चैत २० गते आयोग गठन गरेको थियो।

तीमध्ये ३२ सय निवेदन अनलाइनमा प्रविष्ट (इन्ट्री) भएको र बाँकी इन्ट्री गर्न बाँकी रहेको छ ।

मिटर ब्याजको समस्या सबैभन्दा बढी तराई–मधेशका जिल्लामा रहेको र केही पहाडी जिल्लामा पनि रहेको आयोगका अध्यक्ष एवं विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको भनाई छ।

जिल्लामा पुगेको आयोगको टोलीले पीडित र साहु महाजनका गुनासाहरू सुनेर समाधानका केही उपायका बारेमा सुझाव दिने छ।

समस्या बुझ्न जिल्ला पुगेको आयोगका टोलीसँग पीडितहरूले अहिले पनि साहुहरूले ऋणीहरूको घरमा पुगेर धम्काउने गरेको आरोप लगाएका छन्।

उनीहरूले लिएको भन्दा तेब्बर रकम दिँदासमेत तमसुक नच्यात्ने र त्यसैको बहानामा घर जग्गा आफ्नो नाउँमा गरेको बताएका थिए।अहिले पनि साहुहरूले घरमै आएर धम्काउने र तर्साउने गरेको उनीहरूको गुनासो थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ