सुनसरी, ८ जेठ । दुहबी नगरपालिकाले कृषकहरूलाई उन्नत जातको धान उत्पादन गर्न बीउ वितरण शुरु गरेको छ ।
दुहबीका १२ वटै वडाका किसानहरूलाई उन्नत जातको धान उत्पादन गर्न धान बिउ वितरण गरिएको हो ।
गत वर्ष पनि वर्षायाम सँगै धानको बीउ राख्ने बेलामा नगरपालिकाले उन्नत जातको धानको बीउ वितरण गरेको नगरपालिकाले जनाएको छ ।
दुहबी नगरपालिकाका नगरप्रमुख वेदनारायण गच्छदारले धानबाली नगरको प्रमुख बाली भएकाले धान उत्पादनमा प्रोत्साहन गर्न र नगरपालिकालाई धान उत्पादनमा आत्मनिर्भर बनाउन बीउ वितरण गरेको बताएका छन् ।
गत वर्ष कृषकलाई उन्नत जातको धानको बीउ वितरण गर्दा नगरमा पच्चीस प्रतिशत भन्दा बढी धान उत्पादन बढेको र धानको उत्पादन बढाउन यस पटक पनि नगरपालिकाले बीउको लागि छुट्टै बजेट व्यवस्थापन गरेको नगरप्रमुख गच्छदारले बताए ।
बीउमा ५० प्रतिशत कृषक र ५० प्रतिशत नगरपालिकाको योगदान रहेको छ ।
उक्त धान बिउ नगरक्षेत्रका तीन सयभन्दा बढी कृषक र चार वटा कृषक समूहलाई उन्नत जातको राधा १२, कान्छी, स्वर्णा सव–१, रञ्जित जातको धानको बिउ वितरण गरिरहेको कृषि शाखाले जनाएको छ ।
तपाईको प्रतिक्रिया