रुपन्देही, १५ जेठ । बुटवलको बमघाटबाट पाल्पाको वसन्तपुरसम्म चल्ने लुम्बिनी केबलकार सोमबारदेखि सञ्चालनमा आएको छ ।
लुम्बिनी प्रदेशकै पहिलो केबलकारको रुपमा रहेको यो केबलकार आइएमई ग्रुपको मुख्य लगानीमा सञ्चालनमा आएको हो । २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको उद्घाटन गरेका थिए ।
कुल ५ अर्ब रुपैयाँ लागतमध्ये पहिलो चरणमा डेढ अर्ब लगानी भएको छ भने टप स्टेसनमा साँढे ३ अर्ब लागतमा पाँचतारे होटेल, क्यासिनो र ७ सय जना क्षमताको सेमिनार हल लगायत संरचना निर्माण हुने क्रममा छन् ।
१९ वर्षअघि बुटवलका लक्ष्मण गौतम, तेजप्रसाद विश्वकर्मा, स्व. लालप्रसाद बस्याल, भैरहवाका नारायणप्रसाद उपाध्याय लगायतको समूहले परिकल्पना गरेर अघि बढाएको आयोजना वनसम्बन्धी कानूनी जटिलता र पूँजी अभावमा झण्डै डेढ दशकसम्म अघि बढ्न नसकेको अवस्थामा आइएमइ ग्रुपले लगानी गरेपछि अगाडि बढेको हो ।
तीन वर्षअघि स्थानीय लगानीकर्ताको आग्रहमा व्यावसायिक घराना आइएमइ ग्रुपले नेतृत्व गरेपछि लुम्बिनी केबुलकार निर्माणले गति लिएको ग्रुपका अध्यक्ष चन्द्र ढकालले बताए ।
बुटवलको वडा नं ३ मा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरमा टप स्टेशन रहेको केबलकार २ दशमलब ६ किलोमिटर दुरीको छ । बटम स्टेशनबाट १२ मिनेटमा टप स्टेसनमा पुग्न सकिन्छ ।
तपाईको प्रतिक्रिया