विराटनगर, १८ जेठ । भारतको बथनाहाबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको छ ।
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि भारतको बथनाहाबाट छुटेको कार्गो रेल विराटनगर बिहीबार आइपुगेको हो ।
नयाँ दिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर कार्गो रेल्वेको उद्घाटन गरेका थिए ।
विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्म आइपुगेको उक्त कार्गो रेलमा आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको कच्चा सामग्री ल्याइएको छ ।
भारतको बथनाहाबाट विराटनगरको आईसीपी रेलवे स्टेसनसम्म बिछ्याइएको ८ किलोमिटर रेलमार्गमा २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षण भएको थियो। उद्घाटनअघि बुधबार पनि परीक्षण गरिएको थियो ।
उद्घाटनपछि भारतको बनथाहादेखि विराटनगरको बुधनगरसम्मको ८ किलोमिटर दूरीमा कार्गो रेल नियमित सञ्चालन हुनेछ। यात्रुवाहक रेल सेवा भने तत्काल सञ्चालन हुने छैन ।
भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म १८.१ किलोमिटर रेलवेको निर्माण सन् २०११ मा सुरु भएको थियो। जसमध्ये बथनाहबाट बुधनगरसम्म ८ किलोमिटर मात्रै निर्माण भएको छ।बाँकी ८ किलोमिटरमा संरचना तयार भइरहेको छ।
तपाईको प्रतिक्रिया