नयाँ दिल्ली, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् ।
बिहिबार साँझ नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको विजनेश समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा लगानीका लागि आउन भारतीय व्यवसायीलाई आग्रह गरेका हुन् ।
सरकारले नीतिगत कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको र लगानीमैत्री वातावरण बनाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढ्न वर्तमान सरकार तयार रहेको बताए ।
उनले सरकारले लगानीकर्ताको हितका लागि एकल विन्दु सेवा केन्द्र, लगानीमैत्री कानुन तथा विशेष आर्थिक क्षेत्र निर्माण गरेर धेरैभन्दा धेरै सहजीकरण गरेको उल्लेख गरे ।
निजी क्षेत्रलाई बलियो र शक्तिशाली सहयोगीका रुपमा सरकारले चित्रण गर्दैसँगै साथमा लिएर जाने प्रतिबद्धता गरेको तथा सोहीअनुसारको वातावरणसमेत बनाएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले भारतीय कम्पनीले नेपालमा गरेको लगानीले दिएको प्रतिफलको बारेमा जानकारी गराए ।
नेपालको ऊर्जा, भौतिक पूर्वाधार, उत्पादनमूलक क्षेत्रमा लगानीका लागि आग्रह गर्दै उहाँले नेपालमा लगानीकर्ता प्रतिफल ल्याउन कुनै समस्या नपर्ने, भाषाको समस्या नरहेको र समान सांस्कृतिक एवं जनस्तरको सम्बन्धले थप सहज बनाउने बताएका थिए ।
तपाईको प्रतिक्रिया