काठमाडौं, २० जेठ । छिमेकी मित्रराष्ट्र भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार स्वदेश फिर्ता भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड नेपाल एयरलाइन्सको विमानमार्फत शनिबार साँझ साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
प्रधानमन्त्री दाहाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका राज्यमन्त्री मनाक्षी लेखीले बिदाइ गरेकी थिइन् ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए ।
भ्रमणकै क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति दौपदी मुर्मू एवं उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री दाहाल भारतको मध्यप्रदेशस्थित इन्दौर सहरमा पुगी त्यहाँको फोहर व्यवस्थापनको बारेमा जानकारी लिनुका साथै विज्ञान प्रविधिसम्बन्धी क्षेत्रको अवलोकन गरेका थिए ।
भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा व्यापार सम्झौता, पारवहन सन्धि नवीकरण, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विभिन्न सम्झौता एवं समझदारी भएका छन् ।
तपाईको प्रतिक्रिया