कमल राज पौडेल देवकमल बर्दिया, २५ जेठ । कृषि मेसिनरी औजार मर्मत सम्भार तालीममा सहभागी कृषकहरुले आफूहरुलाई तालीममा सहभागी भए बापत भत्ता होइन कृषि मेसिनरी औजार दिनु पर्ने माग राखेका छन् ।
तालीममा सहभागी ठाकुरबाबा नगरपालिका–४ शाहीपुरकी चन्द्र कुमारी थारुले भनिन्, ‘आफुहरुले तीन दिन कडा मेहनतका साथ कृषि मेसिनरी औजार मर्मत सम्भार तालीम त लियो तर आफ्नो घरमा भएको कृषि यन्त्रको मर्मत गर्नुपर्यो भने औजार लिन कहाँ जाने ?’, उनले भनिन्, ‘बरु हामीलाई भत्ता नदिनु मर्मत सम्भारका लागि औजार दिनुस् ।’
कृषि मेसिनरी औजार मर्मत सम्भार तालीम एकीकृत कृषि तथा पशुपन्छी बिकास कार्यलय गुलरिया बर्दियाको आयोजनामा जेठ २२ गतेदेखि २४ गतेसम्म मधुवन नगरपालिकाको कुशुम्भा बजारमा संचालन भएको थियो ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको आर्थिक बर्ष २०७९÷८० को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत जिल्ला भित्रका ८ वटै पालिकाबाट महिला र पुरुष गरेर १० जना कृषकलाई यो मेसिनरी मर्मत सम्भार तालिममा सहभागी गराइएको थियो ।
कृषकलाई तालीम गराउनु मुख्य उदेश्य राज्यले अनुदानमा दिने मेसिनरी औजारमा सामान्य समस्या देखियो भने कृषकहरुले मर्मत सम्भार खर्चको अभावमा त्यसलाई मर्मत सम्भार नगर्ने त्यसै थन्काईदिने त्यो कार्यले अनुदानमा दुरुपयोग हुने हुदा अनुदानमा दुरुपयोग नहोस् भनेर यो तालीमको आयोजना गरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका पशु चिकित्सक अनिल कुमार शर्माले बताए ।
अहिले सबै निकायले कृषकहरुलाई कृषि यन्त्र वितरण गर्ने हँुदा जिल्लामा धेरैजसो कृषकहरुसँग कृषियन्त्र छन्, तर ती कृषियन्त्र मर्मत सम्भारको अभावमा कृषकहरुको गोठमा त्यसै थन्किएका छन् ।
अब त्यो थन्किएको कृषियन्त्र कृषकहरुको खेतबारीमा लगेर यो बर्दिया जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउनुका साथै कृषकहरुलाई समृद्धि बनाउनु पर्छ । त्यही अभियानलाई पूर्णता दिनका लागि यो कृषि मेसिनरी औजार मर्मत सम्भार तालिम दिइएको जनाइएको छ ।
तालीम प्राप्त सबै कृषकहरुले मर्मत सम्भारका लागि औजार मागेका छन् । आगामी आर्थिक बर्षमा यो माग सम्बोधन हुने गरि कार्यमा ल्याउने आश्वासन दिदै एकीकृत तथा पशुपन्छी बिकाश कार्यलय गुलरिया बर्दियाका कार्यलय प्रमुख सागर ढकालले कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए ।

तपाईको प्रतिक्रिया