प्रधानमन्त्री बन्ने उपेन्द्र यादवको सपना !

समाचार

काठमाडौं, १ असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री सपनामा अहिले लीन भएको चर्चा चौतर्फी भइरहेको छ ।

प्रतिनिधिसभा चुनाव २०७९ मा सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट पराजित भएपछि उपनिर्वाचनमार्फत् जसरी संसदमा छिर्ने उनले योजना बनाएका थिए । जसमा उनी सफल पनि भए ।

उपनिर्वाचनमार्फत् बारा २ बाट उनी निर्वाचित भएर संसदीय दलको नेता हुँदै अहिले प्रधानमन्त्रीको दौडमा छन् । हुन त उनी अहिले सत्तारुढ गठबन्धन दलको एउटा महत्वपूर्ण घटक दलका नेताको रुपमा रहेका छन् ।

उनी वर्तमान प्रधानमन्त्री प्रचण्डका विश्वासका पात्र मानिन्छन् । तर प्रधानमन्त्रीका लागि उनी प्रमुख प्रतिपक्षी एमाले लगायत सरकारबाट बाहिर रहेका दलहरुसँग भित्रभित्रै नयाँ समीकरणको तयारीमा लागेको स्रोतहरुको दाबी छ ।

जहिले पनि मन्त्री बन्नैपर्ने छवि बनाएका उपेन्द्र यसपटक आफू सरकारमा सहभागी भएनन् । उनले प्रधानमन्त्री खाने दाउमा लागेको कतिपय नेताहरुको भनाइ छ ।

जसपाकै नेताहरु भन्छन्, ‘उपेन्द्र यादव यो देशको प्रधानमन्त्री बन्ने हैसियत भएका नेता हुनुहुन्छ । उहाँ प्रधानमन्त्रीका लागि एउटा अब्बल उम्मेद्वारको रुपमा हुनुहुन्छ । यदि प्रधानमन्त्री बनिहाल्नुभयो भने यो अस्वभाविक हुँदैन ।’

यता, कतिपय नेताहरु भन्छन् कि उपेन्द्र यादवको प्रधानमन्त्री बन्ने सपना पूरा हुँदैन । बल्लतल्ल चुनाव जितेका उपेन्द्र सपना मात्र देख्ने तर त्योा पूरा नहुने दाबी कतिपयको छ । माओवादी र कांग्रेसलाई किनारा लगाएर नयाँ समीकरण बनाउने योजना एमालेको रहेको छ ।

एमाले अध्यक्ष केपी ओलीले त्यसका लाग उपेन्द्रलाई प्रधानमन्त्री प्रस्ताव गरेको बुझिएको छ । संविधानमा दुई वर्षसम्म प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसकिने प्रावधान हुँदाहुँदै पनि प्रतिपक्षी दलहरु प्रचण्डको सरकार ढाल्ने रणनीति बनाइरहेको राजनीतिक वृतमा चर्चा छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ