मधेशको सवालमा गम्भीर छौं : रोहित

नेमकिपा अध्यक्ष रोहितलाई मधेश भ्रमणका लागि डा.अहिराजद्वारा आग्रह

समाचार

भक्तपुर, ४ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ले आफू र आफ्नो पार्टी मधेशको सवालमा गम्भीर रहेको बताएका छन् ।

सोमबार भक्तपुरस्थित रोहितको निजी निवासमा मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजसँगको शिष्टाचार भेटघाटमा उनले सो कुरा बताएका हुन् ।

सो भेटका क्रममा अध्यक्ष रोहितले भने, ‘म मधेशको सवालमा गम्भीर छु । मधेशका रैथाने मधेशीको पीडा, सीमा क्षेत्रमा रहेका मधेशीका समस्या र मधेशका किसानको हितको पक्षम मधेशी दलहरु नरहेको कुरा मलाई राम्ररी थाहा छ ।’

रोहितले मधेशका रैथानेहरु नवनागरिकहरुबाट हेपाइमा परेको र नवनागरिकहरुले आर्थिक, सामाजिक तथा राजनीतिक शोषण गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

भेटको क्रममा निवर्तमान प्रदेश प्रमुख डा.अहिराजले मधेशको संस्कृति वा पहिचान झल्किने कुनै बाटोको नामाकरण गर्न अध्यक्ष रोहितसँग आग्रह गर्दै मधेशको स्थलगत भ्रमणका लागि आग्रहसमेत गरेका थिए ।

यसैगरी, मिथिला र नेवा संस्कृतिबारे विचार आदान–प्रदान हुनुका साथै दुवै जनाले चासो र गहिराईपूर्वक मन्थन गरेका थिए । मिथिला र नेवाको सभ्यता, संस्कृति र इतिहासको बारेमा पनि चर्चा भएको थियो । मिथिला र नेवा संस्कृति–सभ्यताको संरक्षण तथा सम्बद्र्धनका बारेमा पनि छलफल भएको जनाइएको छ ।

उक्त भेटघाटमा नेवा र मिथिलाबीच मिल्दाजुल्दा संस्कृति तथा संस्कारबारे अनुसन्धान, अन्वेषण गरी नयाँ पुस्ताका लागि उक्त सम्बन्धलाई पुनर्ताजगी बनाउने कुरामा दुवै जनाको जोड थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ