वीरगन्जका ट्रान्सपोर्ट व्यवसायीहरुले ट्रान्सपोर्ट बन्द गर्ने

समाचार

वीरगंज, ५ असार । वीरगंजका ट्रान्सपोर्ट व्यवसायीहरूले अनिश्चितकालीन ट्रान्सपोर्ट बन्दको घोषणा गरेका छन् ।

पछिल्लो समय ढुवानी सेवामा प्रहरी प्रशासन र राजश्व अनुसन्धान विभागले राजस्व छलीको अभियोगमा अनाहकमा दुःख दिन थालेको भन्दै सोको विरोधमा भोली मङ्गलवारदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेका हुन् ।

सामानको ढुवानीको क्रममा भई रहेको समस्या समाधान तर्फ सम्बन्धित निकाय उदासिन भएको भन्दै ट्रान्सपोर्ट एशोसिएशन पर्साको वीरगंजमा सम्पन्न बैठकले समस्या समाधान नहुन्जेल सम्मका लागि वीरगंजबाट हुने खुद्रा तथा फुलट्रीप ढुवानी अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ ।

मुलुकमै ‘ट्रान्सपोर्ट हब’को रुपमा रहेको आर्थिक तथा व्यापारिक वीरगंजमा ६ दर्जन भन्दा बढी व्यवसायी ढुवानी सेवामा आबद्ध रहेका छन् ।

वीरगन्जका दुईवटा भन्सार र औद्योगिक क्षेत्र बाहेक ट्रान्सपोर्ट एशोसिएशनमा आबद्ध व्यवसायीहरूले दैनिक एक सय हाराहारीमा ट्रकमा विभिन्न माल सामान लोड गरि मुलुकको विभिन्न क्षेत्रमा ढुवानी गर्दै आएका छन् ।

ढुवानी सेवाको क्रममा पछिल्लो समय प्रहरी र राजश्व विभागबाट हुने व्यवहारबाट आफूहरू धेरै मर्कामा परेको व्यवसायीले गुनासो गरेका छन् ।

उत्पन्न समस्या समाधानका लागि व्यवसायीले गत शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ