मधेश सरकार अन्य प्रदेशभन्दा सदैव अग्रस्थानमा : पूर्वमुख्यमन्त्री राउत

समाचार

वीरगन्ज, ६ असार । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मधेश प्रदेशले सङ्घीयतालाई कार्यान्वयन गर्न अन्य प्रदेशभन्दा सदैव अग्रस्थानमा रहेर काम गरेको दाबी गरेका छन् ।

आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजना तथा राष्ट्रिय समाचार समिति (रासस)को सहकार्यमा वीरगन्जमा आयोजित राससकर्मीका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा पूर्वमुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।

पूर्वमुख्यमन्त्री राउतले भने, “आफ्नो हक–अधिकारका लागि पटक–पटक सङ्घीय सरकारको विरोधमा अदालत पुगेकै हो । अन्य प्रदेश प्रहरी ऐन बनाएर प्रदेश प्रहरी गठनका लागि पटक–पटक प्रयास गर्यौँ, तर समयमा सङ्घीय सरकारको सहयोग नहुँदा त्यसमा ढिलाइ भएको हो ।”

समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आइनसकेकाले महिलालाई सक्षम, सवल र योग्य बनाउन आफ्नो नेतृत्वको सरकारले हरेक निकायमा उनीहरुलाई ५० प्रतिशत आरक्षणको व्यवस्था सुनिश्चित गरेको बताए ।

प्रदेश सरकार स्थापना भएदेखि महिलाको समान सहभागिताको सवालमा गम्भीरतापूर्वक कार्य गर्दै आएको उल्लेख गर्दै पूर्वमुख्यमन्त्री राउतले प्रहरीसहित प्रदेश सरकारका सबै सेवामा महिलाको ५० प्रतिशत सहभागितालाई अनिवार्य गरिएको हुँदा आगामी दिनमा मधेशको प्रहरी कार्यालयलगायत क्षेत्रमा महिलाको ५० प्रतिशत उपस्थिति देखिने बताए ।

प्रदेश नयाँ संरचना भएर पनि आफ्नो नेतृत्वको सरकारले विगतका आन्दोलनमा प्राप्त राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक, शैक्षिक, भौतिक पूर्वाधारको साथै चौतर्फी विकासको क्षेत्रमा सन्तोषजनक कार्य गरेको पूर्वमुख्यमन्त्री राउतको भनाइ थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ