रुपन्देही, ७ असार । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
बिहीबार नगरसभाको तेह्रौं अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा बुटवल र आसपासका नगर तथा गाउँपालिकाहरुलाई जोडेर मेगा सिटीका रुपमा विकास गर्न आधार तयार गरिने उल्लेख छ।
यस्तै तिनाउ नदीमा आरती केन्द्र स्थापना गरी तिनाउ नदीको सभ्यतालाई प्रवद्र्धन गर्ने, नेपाली फौजले अंग्रेज फौजलाई पराजित गरेको जितगढी किल्लामा युद्ध संग्रहालय निर्माण गर्ने उल्लेख छ ।
यस्तै बुटवलमा लगानी सम्मेलन गर्ने, दिउँसोमा चल्ने ठेलालाई रात्रीकालीन घुम्ती रेष्टुरेन्टमा रुपान्तरण गर्ने,एक वडा एक पहिचान, एक विद्यालय एक स्वास्थ्यकर्मी, एक घर तीन रुख कार्यक्रम कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
यस्तै सडकका खाल्डाखुल्डी पुर्न नगरप्रमुख पुर्वाधार एम्बुलेन्स कार्यक्रम सञ्चालन गरिने, चर्को घर बहालका कारण व्यवसायी विस्थापित हुनबाट रोक्न घरधनी,व्यवसायिक संघसंस्था र सरोकारवालासंग छलफल गरी समयानुकुल वैज्ञानिक भाडा दर तय गर्न पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
जितगढी किल्ला,रामापिथेकस पार्क,मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबारलाई नगरको गौरव सम्पदाको रुपमा विकास गरिने,बुटवल औद्योगिक क्षेत्रभित्र रहेका करिब ७० वटा उद्योगलाई नगरमा अनिवार्य दर्ता गराई करको दायरामा ल्याई एकीकृत सम्पत्ति कर र बहाल कर असुली गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलता नीति अवलम्बन गरी सुशासन कायम गरिने,समयमा कर तिर्ने करदातालाई सम्मान गर्ने नीति लिइने उल्लेख छ।
नीति तथा कार्यक्रममा बुटवलमा कवाड व्यवस्थित क्षेत्र निर्धारण गरी सबै कवाड व्यवसायलाई करको दायरामा ल्याउने नीति लिइने, बेरोजगारी न्यून गर्ने, स्वरोजगारिता वृद्धि गर्ने, सीप सिकाउने र उद्यम विकास गर्न गृहणी महिलालाई उत्पादनसँग जोड्ने गरी सीप विकास कार्यक्रम सञ्चालन गर्ने नीति लिएको नगर प्रमुख पाण्डेले बताए।
तपाईको प्रतिक्रिया