जनकपुरधाम, ८ असार । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि जनकपुरधाम उपमहानगरपालिकाले २ अर्ब २८ करोड २३ लाख ६९ हजार २ सय ९० रुपैयाँको आय व्ययसहितको बजेट सार्वजनिक गरेको छ ।
जनकपुरधामको १० औँ नगरसभामा उपप्रमुख किशोरी साहले बजेटमा चालु तर्फ १ अर्ब १३ करोड ३२ लाख अर्थात् कूल बजेटको ४९.७८ प्रतिशत तथा पूँजीगत तर्फ एशियाली विकास बैङ्कको बजेट सहित १ अर्ब ९ करोड ८३ लाख ५ हजार २ सय ९० रुपैयाँ अर्थात् कूल बजेटको ४७.८८ प्रतिशत रहेको छ ।
यसका साथै वित्तीय व्यवस्थापन तर्फ ५ करोड ३३ लाख ३४ हजार अर्थात् कूल बजेटको २.३४ प्रतिशत रहेको छ । बजेटको श्रोतको रुपमा जनकपुरधाम उपमहानगरपालिकाको आन्तरिक आम्दानीबाट ८० करोड ४३ लाख ११ हजार २ सय ९० रुपैयाँ, बाह्य श्रोतमा संघीय तथा प्रदेश सरकारको सशर्त अनुदान र एडिबीका योजना समेतबाट १ अर्ब ३९ करोड ४२ लाख ५८ हजार र आन्तरिक ऋणबाट ८ करोड ३७ लाख ३५ हजार बेहोर्ने उपप्रमुख साहले पेश गर्नु भएको बजेटमा उल्लेख रहेको छ ।
यसअघि जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले अगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपमहानगरपालिकालाई सफा, स्वच्छ, सुन्दर र सु–संस्कृत तथा समृद्ध उपमहानगरपालिका बनाउने प्रतिबद्धता सहितको कार्यक्रम पेश गरे ।
उनले जनकपुरधाम विश्वका हिन्दुहरूको आस्थाको केन्द्र भएकाले यस ठाउँको धार्मिक तथा पर्यटकीय स्थलहरूको सौन्दर्यीकरणका साथै नगरलाई स्मार्ट शहरको रुपमा विकास गर्नका लागि सबै प्रकारका उपायहरू अवलम्बन गर्ने प्रतिबद्धता प्रकट गरे ।
यसका साथै शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा कृषिको उत्पादन बजारीकरण गर्दै एक वडा एक उत्पादनमा विशेष रुपमा जोड दिने नगरप्रमुखले पेश गर्नु भएको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।
तपाईको प्रतिक्रिया