मधेश प्राचीनकालको भूमि हो, जसले महान महिला तथा पुरुषहरु दिएको छ : महन्थ ठाकुर

समाचार

काठमाडौं, ९ असार । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य महन्थ ठाकुरले मधेश एउटा प्राचीनको सभ्यता, संस्कृति भएको भूमि रहेको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अध्यक्ष ठाकुरले मधेशी र मधेश बाहिरिया हो भन्ने विभिन्न भ्रमहरु रहेको बताउँदै सो कुरा राखेका हुन् ।

उनले भने, ‘मधेश एउटा पूरानो भूमि हो । प्राचीनकालको सभ्यता र संस्कृति भएको र त्यहाँ महान महिला तथा महापुरुषहरु मधेशले दिएको छ । हाम्रो विभूतिहरुमा पनि त्यसको स्थान छ ।’

‘सीता माता, जनक, याज्ञवल्क, भगवान गौतम बुद्धलाई सारा संसार चिन्छ । यस्ता महापुरुष र महिलाहरुको जन्म भएको स्थान हो मधेश ।’ उनले भने, ‘तर आज मधेशको स्थिति के छ ? मधेश अपहेलित छ, उपेक्षित र दयनीय अवस्थामा छ ।’

उनले यहाँ मधेशको अधिकार, सम्मान र समानताका लागि पटक–पटक आन्दोलन भएको र सयौं मानिसले ज्यान दिनुपरेको कुरा संसदमा स्मरण गराएका छन् । लोकतान्त्रिक आन्दोलनमा लाखौं मधेशीहरुले दिल खोलेर भाग लिएको उनले बताए ।

यसैगरी, अध्यक्ष ठाकुरले मधेश आन्दोलनका बेला सयौं मधेशीको ज्यान गएको र सयौं नेता कार्यकर्तामाथि झुठा मुद्दा लगाइ अहिलेसम्म पनि कतिपय जेलमा रहेको गुनासो पोखेका छन् । उनले हरेक सरकारसँग मुद्दा फिर्ता लिने, रिहा गर्ने र माग सम्बोधन गर्ने सहमति गर्दा पनि कार्यान्वयन नभएको उनको गुनासो थियो ।

‘सशस्त्र जनयुद्ध हुँदा हजारौं मान्छेको ज्यान गएको थियो तर कोही जेलमा छैनन् । कसैमाथि मुद्दा लागेको हामी हेरिरहेका छैनौं । तर समानता, अधिकारका लागि मधेशी लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलन गरेको थियो । सरकारसँग आठ बुँदे सम्झौता भएको थियो । त्यासमा धेश एक स्वायत्त प्रदेश बन्नेछ र अधिकार सम्पन्न हुनेछ । राज्यको प्रत्येक अंगमा जनसंख्याको आधारमा सहभागिता हुने सम्झौता भएको थियो । तर त्यो भएको छैन ।’ उनले भनेका छन् ।

यस्तै, उनले सीमा व्यवस्थापन कुरा राम्रै रहेको भन्दै ‘१ सय रुपैयाँको सामान पनि सीमापारीबाट ल्याउँदा जबर्जस्ती खोसेर भन्सार बुझाउने गरेको बताए । ‘पहिला उतातिर मान्छे हाम्रो यहाँ काम गर्न आउँथ्यो । अहिले हाम्रै यहाँका मानिसहरु उता काम गर्न जान बाध्य हुन्छन् । किनकि आफ्नो यहाँ रोजगारको व्यवस्था छैन । त्यहाँ मजदूरी गरेर कुनै सामान लिएर आउँछन् भने खोस्ने काम भइरहेको छ ।’

उनले सीमामा आतंकित र असन्तुष्टि रहेको बताउँदै कुनै बेला पनि त्यो असन्तुष्टि हिंसात्मक रुप लिन सक्ने कुरा सचेत गराएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ