कैलाली, ११ असार । जिल्लाको तीन छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–१ स्थित जिल्ला कारागार कैलालीमा कैद भुक्तान गरिरहेको छोरो भेट्न आएकी सोही उपमहानगरपलिका–३ मिलन चोक बस्ने ५० वर्षीया कमला देवी अवस्थीलाई अवैध लागूऔषध ब्राउनसुगर ५ ग्राम ४० मिलिग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
२१ वर्षीय ओम प्रकाश अवस्थीलाई भेट्न आएकी उनलाई जाँच गर्ने क्रममा बिस्कुटभित्र लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषधसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी, धनगढी उपमहानगरपालिका–१२ जुगेडा ‘ए’ गाउँस्थित दुर्गेश्वरी मासु पसलबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने पसल संचालक ३५ वर्षीय शेर बहादुर भण्डारी र सोही ठाउँ बस्ने २७ वर्षीय राकेश भट्ट रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले पसलमा तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
त्यसैगरी, धनगढी उपमहानगरपालिका–७ मनेहराबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ७ मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय गोबिन्द रानालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया