जनमत पार्टीले बजेटलाई समर्थन नगर्ने

समाचार

काठमाडौं, १३ असार । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले संघीय सरकारको बजेटको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ ।

बुधबार जनमत पार्टीको संसदीय दलको बसेको बैठकले सो निर्णय गरेको डा.राउतको सचिवालयले जनाएको छ ।

‘गरीबमारा, मधेश विरोधी, जनतामारा, असमान बजेटलाई समर्थन नगर्ने निर्णय आज जनमत पार्टीको संसदीय दलको बैठकले गरेको छ। देशकै अर्थतन्त्र धराशायी भइराखेको बेलामा लूटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट संशोधनबिना कुनै पनि हालतमा स्वीकार्य छैन।’ डा.राउतको सचिवालयले भनेको छ ।

जनमत पार्टी मन्त्री पदकै लोभमा अरू पार्टी जस्तो समर्थन दिन नसक्ने भन्दै ‘यो संसद्को गरिमाको लागि पनि अपरिहार्य छ। डेढ महिना बजेटमाथि बहस गर्ने तर अन्तिममा आएर त्यही बजेटलाई संशोधनबिना समर्थन गरिदिने निर्र्थक संसदीय अभ्यास र निरीह संसद्को खिलाफ पनि जनमत पार्टीको यो कदम महत्वपूर्ण र ऐतिहासिक छ।’ भनिएको छ ।

डा.राउतले भनेका छन्, ‘आफूले बोलेको कुरामा ५–६ जना थप सांसदले मात्रै अडिग रहन हिम्मत गर्ने हो भने यो जनतामारा बजेट पारित हुने नै थिएन। तर बोल्ने बेलामा एउटा अनि लोभलालचमा परी त्यही जनतामारा बजेटलाई समर्थन गरिदिने परिपाटी र बोलीको ठेगान नभएका तथा रतिभर अडान नभएका नेता सांसदले गर्दा नै यो देश श्रापित भएको छ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ