बाँके जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

समाचार

नेपालगन्ज, १४ असार । बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले एक कार्यक्रमका बीच बाँकेलाई लुम्बिनी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् ।

जिल्लाका आठ वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपछि आज जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

खोपै नलगाएका २ सय ९० बालबालिका र नियमित तथा पूर्ण खोप नलगाएका १ हजार ५ सय १७ जना बालबालिकालाई खोप लगाइसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

जन्मेदेखि ५९ महिनासम्मका सबै बालबालिकाले उमेर अनुसार पाउनुपर्ने १४ प्रकारका रोग विरुद्धको खोप पाइसकेकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । माघदेखि घरधुरी सर्वेक्षण सुरुवात भई ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको थियो ।

डुडुवालाई वैशाख ८, जानकीलाई जेठ २१, खजुरालाई २५, कोहलपुरलाई २६, बैजनाथलाई २९, नरैनापुरलाई ३१, नेपालगन्जलाई ३२ र राप्तीसोनारीलाई असार ३ गते पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ