० मधेशको राजनीतिक अवस्थालाई कसरी हेर्दै हुनुहुन्छ ?
— मधेशी राजनीतिको इतिहास हेर्ने हो भने वि.सं. २००८ सालदेखि नै नेपाली क्रान्तिमा समानान्तररुपमा चल्दै आएको छ । वेदानन्द झाको तराई कांग्रेस, गजेन्द्रानारायण सिंहको नेपाल सद्भावना परिषद् हुँदै नेपाल सद्भावना पार्टी, त्यसपछि मधेशी जनअधिकार फोरम, तमलोपा हुँदै विभिन्न कालखण्डमा टुटफुट हुँदै अहिलेको अवस्थामा आइपुगेको छ । यसरी हेर्दा केही पार्टी उदय भएर विलय पनि भए र केही पार्टीहरु अहिले अस्तित्वमा छन् । मधेशको मुद्दाको कुरा गर्दा अहिलेसम्म कुनै पनि पार्टीले मुद्दालाई बोक्न सकेनन्, त्यसको कारण हो सत्तास्वार्थ । सत्तास्वार्थकै कारण मधेशी दलहरु विस्तारै साँघुरिँदै गएका छन् । नयाँ शक्तिको रुपमा मधेश र थरुहटमा जनमत र नागरिक उन्मुक्ति आएका छन् । यी दुई पार्टी पनि सत्ताकै सेरोफेरोमा घुमिरहेका छन् । परम्परागत राजनीतिक शैली यिनीहरुको पनि रहेका छन् । संघर्षद्वारा आफ्नो मुद्दालाई स्थापित गर्नुभन्दा पनि यिनीहरुको पनि गन्तव्य सत्ता नै देखियो । तर, उदय भएका यी दुई दललाई पनि अहिले नै मूल्यांकन गर्नु अन्याय हुन्छ । यिनीहरु अहिले टेस्ट भइसकेका छन् ।
० पूराना मधेशी दलहरुबाट मधेशका जनताले आशा गर्न छोडिसकेका छन् ?
— अवस्था त्यस्तै देखिन्छ । दिनप्रति दिन मधेशी दलहरुको जनाधार गुम्दै गएको यथार्थ विभिन्न चुनावबाट देखिएको छ । हामी नागरिक अभियन्ताको रुपमा भन्न चाहन्छौं कि विगतबाट पाठ सिक्नुस्, सच्याउनुस् र कोर्ष करेक्सन गर्नुस् । उपेन्द्र यादवले मात्रै होइन, महन्थ ठाकुर, राजेन्द्र महतोहरुले कोर्ष करेक्सन गर्न आवश्यक छ । उहाँहरु आफ्नो मुद्दाबाट विचलित हुनुभयो । उहाँहरुले सत्तालाई बढी केन्द्रित गर्नुभयो । २०६४ को चुनावदेखि नै मधेशी दलहरु सत्तामै जानका लागि फुट्दै आए । सत्ताको राजनीति मधेशका जनताले रुचाउँदैन । किनभने मधेश अहिलेसम्म अधिकार सम्पन्न भएकै छैन । एउटा आठ वटा जिल्लाको मधेश प्रदेश छ । त्यहाँ पनि राम्ररी सेवा दिन सकेको छैन । त्यहाँ युवा नेताहरुले सरकार चलाइरहेका छन् । ती सबैलाई नेताहरुले भ्रष्टीकरण गरिसकेका छन् । मन्त्री बनाउँदा पहिला नै परसेन्टेज लिने गरेका छन् । युवाहरुलाई भ्रष्टीकरणको दिशामा लग्यो । अहिले मधेश प्रदेशमा सबभन्दा ठूलो पार्टी एमाले बनेको छ, जसलाई हिजो मधेश विरोधी भनिन्थ्यो ।
० मधेशमा उदाएको जनमत पार्टी वैकल्पिक शक्ति बन्न सक्छ ?
— राजनीतिक दलहरु उदय र विलय हुँदै आएको इतिहास छ । जब कुनै शक्ति उदय हुन्छ भने त्यो कसरी स्थापित हुन्छ भन्ने कुरा उसको क्रियाकलापले देखाउँछ । केही दिनसम्म जनमत पार्टी संघीय सरकारमा सहभागी भयो, जबकि जनताको मतादेश त्यो होइन । किनभने जनमत पार्टीको सिट संख्याले पनि भन्दैन कि सरकारमा गएर काम गर्नुस् । यसको उदाहरणको रुपमा पहिलो संविधानसभाको चुनावमा मधेशी शक्तिहरुले राम्रो मत पाएको थियो र राम्रा–राम्रा मन्त्रालयहरु पाएका थिए । तर, जनताको पक्षमा केही पनि गर्न सकेनन् । तसर्थ, डा.सीके राउतको आगामी क्रियाकलाप बढी सत्ताकेन्द्रित भयो भने अहिले पाएको मतादेश पनि गुमाउँछ ।
० मधेश आन्दोलनबाट मधेशको मसिहा भनेर उदाउनुभएको उपेन्द्र यादव अहिले कम्युनिष्टहरुसँग मोर्चाबन्दी गर्नुभएको छ । समाजवादी मोर्चामा अहिले उहाँ हुनुहुन्छ । यसलाई कसरी हेर्नुहुन्छ ?
— समाजवादी मोर्चा घोषणा कार्यक्रममा प्रचण्डले सम्बोधन गर्दा कमरेड उपेन्द्र भन्नुभएको थियो । यसबाट अनुमान लगाउन सकिन्छ कि उपेन्द्र यादव फेरि कम्युनिष्ट हुनुभयो । तर, यसमा मेरो फरक मत छ । समाजवादी मोर्चा भनेर नामाकरण गरिएको छ, तर नेताहरुको चरित्र हेर्दा ठिक विपरीत अर्थात् मसाजवादी छ । ती नेताहरुको जीवनशैली, रहन–सहन, ऐसमौज हेर्दा मसाजवादी चरित्र हो । समाजवादी हुनका लागि त्यसअनुसार आचरण हुनुप¥यो । यो मोर्चाको एउटा मात्र उद्देश्य हो, प्रचण्डको सरकारलाई बचाउने । यिनीहरु सबै टेस्टेड भइसकेका छन् । अब युवाहरु नेतृत्वका लागि अगाडि बढ्नुपर्छ । यिनीहरुका क्षमता जनताले हेरिसके, अब नेतृत्व हस्तान्तरण गर्नुपर्छ । अब युवा पुस्तालाई भ्रष्टीकरण नगर्नुस् । उनीहरुको हातमा पार्टी र देशको नेतृत्व दिनुस् । मधेशी पार्टीहरुले पनि नेतृत्व हस्तान्तरण गर्नुपर्छ । नेपाली कांग्रेसमा जसरी युवा नेताहरुले नेतृत्वलाई चुनौति दिइरहेका छन्, त्यसरी नै मधेशी दलका युवाहरु अगाडि बढ्नुपर्छ । युवा नेताहरुलाई भरौटे नबनाउनुस् । मधेशलाई भावी नेतृत्व चाहियो, त्यो युवापुस्तामा हस्तान्तरण गर्नुपर्छ ।
० मधेशी दलका नेतृत्वलाई चुनौती दिनसक्ने युवा नेताहरु छन् त ?
— मधेशी दलका नेतृत्वकर्ताले नेतृत्व हस्तान्तरण गर्न सक्ने युवा नेताहरु बनाउन सकेनन् । मधेशको मुद्दा धेरै अग्लो र नेता धेरै होचो भए । वेदानन्द झादेखि अहिलेसम्मका नेतृत्वहरु यस्तै छन् । यी नेतृत्वहरुसँग मुद्दालाई बोक्न सक्ने ल्याकत छैन । युवाहरु अब आफ्नो नेतृत्व विकास गर्नुपर्छ । युवा नेतृत्वहरु झोले नबन्नुस् । युवा नेतृत्व माथि नै मधेशको भविष्य छ । मधेशका युवा नेताहरु आफ्नो नेतृत्व विकास गर्न आफै अगाडि बढ्नुप¥यो । अहिले त मुद्दा कमजोर भएको छ तर युवा नेताहरु अगाडि बढेनन् भने मधेशको मुद्दा विलयतिर जानेछ । मधेशका पढेलेखेका र जानेबुझेका युवाहरु अहिले मधेशको अवस्थालाई नियालिरहेका छन् । जब मधेशमा भ्याकेन्टको अवस्था आउँछ, त्यो बेला यी युवाहरु एकीकृत हुन्छन् । त्यहाँबाट नेतृत्व विकास भएर आउँछ र मधेशको नेतृत्व लिन्छ ।
० नागरिकता समस्या मधेश आन्दोलनको एउटा मूल एजेण्डामध्ये थियो । अहिले नागरिकता विधेयक कार्यान्वयन हुँदैछ । यसले नागरिकता समस्या समाधान भएको हो ?
— आंशिकरुपमा केही समस्या समाधान भएको छ, तर समग्रतामा समाधान भएको होइन । किनभने अहिले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाइरहेका छन् । मुख्य समस्या भनेको अहिले पनि धेरै रैथाने मधेशीहरु जो विपन्न र अशिक्षित छन्, तिनीहरुसँग नागरिकता छैन । रैथानेहरु यदि राज्यका नागरिक हुन् भने राज्यले घरमै गएर नागरिकता दिनुपर्छ । नागरिकताका लागि लड्नुपर्ने होइन, यो राज्यको दायित्व हो । यहाँ भन्छन् कि भारतको बिहार र उत्तरप्रदेशका मान्छेहरु नागरिकता लिन्छन् । तर यहाँ नागरिकता बाँड्ने र पहिचान गर्ने मान्छे को हुन् त ? विदेशीले नागरिकता पाउँछन् भन्ने नाममा रैथाने मधेशीलाई राज्यविहीन बनाउने त ? त्यसकारणले अहिले नागरिकता समस्या समाधान भएको छैन ।
० नागरिकताको कुरा उठ्ने बित्तिकै राष्ट्रवादको नाउँमा यहाँ विभिन्न भ्रमहरु फैलाइरहेका हुन्छन्, यसलाई कसरी हेर्नुभएको छ ?
— राष्ट्रवादको नाउँमा यहाँ पहाडका जनताहरुमा भ्रम सिर्जना गरिएको छ । यहाँ भ्रम फैलाइएको छ कि मधेशीहरु भारतका प्रतिनिधित्व हुन् । यो राणाकालीन मानसिकता हुन् । यो महेन्द्रीय मानसिकताबाट मुक्त हुन सकेका छैनन् । यहाँ वर्ण र रंगको आधारमा पनि विभेद हुन्छ । जतिबेला ऋतिक रोशन काण्ड भयो, त्यतिबेला काठमाडौंमा काले–काले पहाडी समुदायका मान्छेहरु पनि कुटाइ खाए । यो मानसिकता अहिले पनि छ । यहाँ भारतले भूमि मिचेको कुरा गर्छन् तर चीनले पनि हाम्रो धेरै भूमि मिचेका छन् । त्यसबारे कसैले पनि बोल्दैनन् । त्यसैले खोक्रो राष्ट्रवादी चिन्तन नै यो देशको मूल समस्या हो । यहाँ राष्ट्रियता भेषभूष, भाषा र रंगमा हेरिन्छ । राष्ट्रियता भनेको भूमि मात्रै होइन, जनता पनि हो । मधेशको भूमि नेपालको भूमि हुने तर, त्यहाँका बासिन्दा विदेशी हुने मानसिकता त्याग्नैपर्छ ।
तपाईको प्रतिक्रिया