साताव्यापी ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक चेतनामूलक कार्यक्रम सुरू

समाचार

काठमाडौं, ३ साउन । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौं उपत्यकामा साताव्यापी ‘यात्रुसँग दुई मिनेटʼ ट्राफिक चेतनामूलक कार्यक्रम बुधबारबाट सुरू गरेको छ ।

सोही कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले सुन्धारास्थित काठमाडौं मल अगाडि बस बिसौनीमा ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्री समेत वितरण गरी उक्त कार्यक्रमको सुरूवात गरेका हुन् ।

कार्यक्रम सुरुवात गर्दै प्रहरी नायब महानिरीक्षक पोखरेलले नियम विपरीत सवारी साधन चलाएमा, बढी भाडा लिएमा, दुर्व्यवहार गरेमा र आरक्षण सिटको पालना नगरेमा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न यात्रुलाई अनुरोध गरे ।

जथाभावी सवारी चढ्ने र ओर्लने, झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता कार्यले पनि सवारी दुर्घटना हुँदै आएका छन् । सुरक्षित सडक यात्राका लागि चालक र परिचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्वपूर्ण जिम्मेवारी रहने भएकाले उक्त कार्यक्रमको सुरूवात गरेको हो ।

कार्यक्रममा बस बिसौनीबाट मात्र गाडी चढौं, पकेटमारीबाट बचौं, दुर्व्यवहार र अन्य आपराधिक कृयाकलापबाट बचौं लगायत यात्रुले पैदल हिंड्दा र बाटो काट्दा पालना गर्नुपर्ने आधारभूत जानकारी सहितको पर्चा पम्प्लेट यात्रुलाई वितरण गर्नुका साथै ट्राफिक जनचेतना अभिवृद्धिका लागि विभिन्न चोकहरूमा व्यानर समेत प्रदर्शन गरिएको थियो ।

यात्रुको आवत जावत बढी हुने स्थानहरू काठमाडौंका न्यूरोड, शान्तीवाटिका, कालिमाटी, कलंकी, महाराजगञ्ज, चावहिल, गौशाला, कोटेश्वर लगायत भक्तपुर र ललितपुरका विभिन्न बस बिसौनीमा आगामी १० गतेसम्म यो कार्यक्रम सञ्चालन गरिने उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ