जनकपुरधाम, ११ साउन । प्राकृतिक विपद्को समयमा काम गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको आर्थिक लगानीमा निर्माण भएको ‘प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र’ मधेश प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।
धनुषाको सपहीमा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले प्रदेश सरकारलाई हस्तान्तरण गरेका हुन् ।
मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले पहिलो पटक नीजि तथा सरकारी अस्पतालमा गरेर ३ हजार २५ वटा शय्या गरिब तथा विपन्न वर्गका लागि निःशुल्क छुट्याउने काम भएको बताएका छन् ।
मन्त्री बस्नेतले अस्पतालको १० प्रतिशत शय्या निःशुल्क गर्नुपर्ने प्रावधानको पालना ठुलोदेखि सबै अस्पतालले गर्नुपर्ने धारणा निःशुल्क शय्या नछुट्याउने माथि सरकार कठोर भएर कारबाही गर्ने बताए ।
मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशमा गरिबी अत्यधिक भएका कारणले स्वास्थ्यमा बढी समस्या रहेको बताउँदै जनसङ्ख्याको अधारमा स्वास्थ्यमा बजेट विनियोजन गर्नका लागि माग गरे ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र कुमार सिंहले मधेश प्रदेशको स्वास्थ्य सुधारका लागि मन्त्रालयले काम थालेको उल्लेख गर्दै सबै जिल्ला अस्पतालहरूलाई १ सय शय्यामा सञ्चालन गर्ने निर्णय भएको बताए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव सङ्गीता कौशल मिश्र, मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.प्रमोदकुमार यादवले प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको सञ्चालनले प्रदेशमा आउने प्राकृतिक आपत् विपद्को समयमा काम गर्ने बताए ।
तपाईको प्रतिक्रिया