वीरगन्ज, १ भाद्र । वीरगन्ज महानगरपालिकाले सडकमा जथाभावी फोहर फ्याँक्नेलाई जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ ।
महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याँक्नेलाई जरिवाना गर्दै आएको वीरगन्ज महानगरले आजदेखि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने भएको हो ।
हालसम्म जथाभावी फोहर फ्याँक्ने पाँच सय ७५ व्यक्ति र संस्थाबाट महानगरले रु १७ लाख ५४ हजार जरिवानावापत राजस्व सङ्कलन गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा जरिवानाबाट रु १५ लाख ३६ हजार तथा चालु आव २०८०/८१ को साउनमा जरिवानावापत रु दुई लाख १८ हजार राजस्व सङ्कलन भएको छ ।
सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ ।
महानगरपालिको वडा नं १ देखि ३२ वटै वडामा वीरगन्जस्थित पृथीतारा एमके इन्टरनेसनल जेभीसँग गत २०७६ जेठ २ सम्झौला गरी नियमित सरसफाइ गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया