मटिहानीमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धन सम्बन्धी कार्यक्रम

समाचार

महोत्तरी, ७ असोज । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास महोत्तरीले मटिहानी नगरपालिकाको सहकार्यमा मटिहानीमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धन सम्बन्धी कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा सुशासन र भ्रष्टाचार नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो । हाल आयोगको कार्यालय बर्दिबासमा परेको १४ सय ९३ वटा विभिन्न प्रकारका उजुरी मध्ये १२ सय ८ वटा स्थानीय निकायको मात्र रहेको जानकारी गराएको थियो ।

साथै कार्यक्रममा भ्रष्टाचार नियन्त्रण सम्बन्धी विभिन्न ऐन कानुन बारे समेत छलफल भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रुपमा बोल्दै मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले स्थानीय निकायमा भ्रष्टाचार बढ्नु हामी सबैको चिन्ताको विषय भएकोले भ्रष्टाचार नियन्त्रण कार्यलाई अझै बढ़ी प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

आयोगको बर्दिबासका उपसचिव कृष्णबहादुर हुमागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखा अधिकृत विकास कुमार मिश्रले कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मटिहानी नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सचिवहरु, शाखा प्रमुखहरु, नागरिक समाज, वित्तीय क्षेत्रका प्रतिनिधि, स्थानीय सुरक्षा निकायहरु, प्रधानाध्यापकहरु र स्वास्थ्यकर्मीहरु सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ